सम्झौता अवधि सकिँदा सम्म कोट अस्पतालको काम १० प्रतिशत मात्रै

भोजपुर । भोजपुरको कोट अस्पतालको निर्माण अवधि सकिँदा १० प्रतिशतमात्र काम सम्पन्न भएको छ । टेम्केमैयुङ गाउँपालिका–७ मा निर्माण भइरहेको अस्पताल ठेकेदारको कारण अलपत्र बनेको हो ।
दुई वर्षभित्र सम्पन्न गर्ने गरी अस्पताल निर्माणको काम २०७८ साउनमा थालिएको थियो । तर ठेकेदारले मैदान सम्याएर, कम्पाउण्ड र रिटेनिङ वालमात्र लगाएर काम अलपत्र छाडेको टेम्केमैयुङ–६ का वडाध्यक्ष सूर्यप्रसाद नेपालले जानकारी दिए । सहजरूपमा स्वास्थ्य सेवा पाउने आशामा बसेका कोटवासीमा कामलाई देखेर निराशा बढेको उनले भनाइ छ ।
काम ढिला भएको विषयमा निर्माण कम्पनीसँग लिखित स्पष्टीकरण मागिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले जानकारी दिए । काममा ढिलाइ भएकाले समन्वय गरिदिनका लागि जिल्ला प्रशासन कार्यालयलाई समेत पत्राचार गरिएको उनले भनाइ छ ।
ठेकेदार कम्पनीलाई पटक–पटक कामलाई चाँडो अघि बढाउन भन्दा पनि काम नगरेको उनले जानकारी दिए । ठेकेदारको तर्फबाट चित्तबुझ्दो जवाफ नआएमा ठेक्का रद्द गरेर निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने कार्यापालिकाले निर्णय गरेको उनले बताए ।
“अस्पताल निर्माणमा ठेकेदारले ढिलाइ गरेको अवस्था छ”, अधिकृत न्यौपानेले भने, “धेरैपटक भन्दा पनि काममा सोचेअनुसारको प्रगति नभएपछि जिल्ला प्रशासन कार्यालयलाई समन्वयका लागि पत्रचार गरेका छौँ । सम्झौताको म्याद सकिएको अवस्था छ । अब पनि काम भएन भने ठेक्का रद्द गरेर ठेकेदारलाई कालोसूचीमा राख्नका लागि पत्रचार गर्ने कार्यपालिकाबाट निर्णय गरिएको छ ।”
अस्पताल निर्माणमा ठेकेदार कम्पनी जिम्मेवार नबनेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताए । कामलाई चाँडो सम्पन्न गराउन गाउँपालिकाले आफ्नो तहबाट भूमिका खेलिरहेको उनले बताए । “कामलाई चाँडो अघि बढाउन ठेकेदारलाई ताकेता गरिरहेका छौँ”, उनले भने, “ठेकेदारले विभिन्न बाहना देखाएर काम अघि बढाउन ढिलाइ गरेको अवस्था छ । अब पनि काम भएन भने कानुनी प्रक्रियाअनुसार अघि बढ्छौँ ।”
निर्माण सुरु भएको दुई वर्षमा करिब १० प्रतिशतमात्र काम भएको गाउँपालिकाका इन्जिनियर रामकुमार तामाङले जानकारी दिए ।
अस्पताल निर्माणको काम एक वर्ष बढी समयबाट अलपत्र अवस्थामा रहेको उनको भनाइ छ । “अस्पताल निर्माणको काम दुई वर्ष अवधिमा १० प्रतिशतको हारहारीमा मात्र प्रगति भएको छ”, उनले भने “लामो समयबाट काम रोकिएको अवस्था छ ।”
अस्पतालको कामलाई चाँडो अघि बढाउनका लागि पहल भइरहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । ठेकेदारले काममा लापरबाही गरेकाले सोचेअनुसारको प्रगति नभएको अध्यक्ष बस्नेतको भनाइ छ । केही समयअघि फोनमार्फत काम चाँडो अघि बढाउने विषयमा कुराकानी भएको उनले बताए ।
“ठेकेदारले काममा अत्यन्तै ढिलाइ गरेको अवस्था छ”, अध्यक्ष बस्नेतले भने, “काम सञ्चालन गराउन मैले पहल गरिरहेको छु । निर्माणका क्रममा आउने समस्या समाधानमा गाउँपालिकाको तर्फबाट भूमिका खेलिरहेका छौँ । तर पनि ठेकेदारले काम गर्न ढिलाइ गरेको अवस्था छ ।”
अस्पताल सम्झौताअनुसार २०८० असारभित्र सम्पन्न गर्ने गरी भूमि हिमालयण जेभीले निर्माणको जिम्मा लिएको हो । पन्ध्र शय्याको अस्पताल निर्माणको कुल लागत रु १० करोड १४ लाख रहेको छ । हालसम्म निर्माण कम्पनीले पेश्कीबापत रु ८४ लाख भुक्तानी गरिसकेको गाउँपालिकाले जनाएको छ ।
















कस्ताे रहला आज दिनभरकाे माैसम ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
बुधबार यी राशिहरूकाे भाग्य शुभ छ, हेर्नुहोस् राशिफल
अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक
फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
प्रतिक्रिया