कोशीमा अब सहमतीय कि गठबन्धनको सरकार ?

काठमाडौँ । नेपाली कांग्रेसमा विद्रोह गरेर मुख्यमन्त्री बनेका केदार कार्कीले कोशी प्रदेश सभामा विश्वासको मत लिँदा ९३ मध्य ८६ सांसदको मत पाएका छन् । मुख्यमन्त्री बन्ने बेलामा उनको विरुद्धमा लागेकाहरूले पनि कार्कीलाई नै विश्वासको मत दिएपछि उनले दुई तिहाइ बढी मतसहित मुख्यमन्त्रीमा अनुमोदन भए ।
बुधबार विश्वासको लिएपछि सञ्चारकर्मीहरूसँग कार्कीले सहमतीय सरकार निर्माणका लागि आफ्नो प्रयास रहने बताए । ‘सहमतीय सरकारका लागि अधिकतम प्रयास हुन्छ’, उनले भने, ‘पावर सेयरिङका विषयमा सम्वाद र सहमति गरेर अघि बढ्छौं ।’
कार्की मुख्यमन्त्री नियुक्त भएपछि कोशी कांग्रेस संसदीय दलको नेताबाट राजीनामा दिएका पूर्वमुख्यमन्त्री उद्धव थापाले एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई गठबन्धनको सरकारमै बस्न आग्रह गरे ।
अघिल्लो बैठकमा केन्द्रमा जे निर्णय भए पनि प्रदेशको हितमा निर्णय गर्न आफू सक्षम रहेको बताएका एमाले दलका नेता कार्कीलाई सो भनाइ स्मरण गराउदै थापाले कार्कीलाई भने, ‘त्यो हामीले बिर्सिएका छैनौं । अब यहाँको निर्णय यो सरकारमा लागू होस्, पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले भने जस्तो हिम्मत गरौं, यो सरकारलाई निरन्तरता दिऊँ र सम्भावित मध्यावधिबाट यो प्रदेशलाई जोगाऊँ ।’
तर एमाले भने सहमतिको सरकारको पक्षमा छैन । नेता कार्कीले सहमतीय सरकारमा एमालेको रुचि नरहेको बताए । एमाले–कांग्रेसको सरकार बनाउने कि सत्ता गठबन्धनको सरकार बनाउने हो भन्ने अब मुख्यमन्त्रीको हातमा रहेको कार्की बताउँछन् ।
बुधबार गठबन्धन दलको बैठकमा मुख्यमन्त्री कार्कीले गठबन्धनको सरकार बनाउने बताएका थिए । बजेट अध्यादेश पास गर्दा एमालेको साथ चाहिने भएका कारण उनले सार्वजनिक रुपमा बोलेका छैनन् ।
कांग्रेससहित गठबन्धन दलहरु एमालेलाई सत्ता बाहिर राख्न चाहे पनि कार्कीले आइतबार सपथग्रहण गर्दा एमाले सांसद राम रानालाई सरकारमा सहभागी गराएका छन् ।
‘गठबन्धन कहाँ छ यहाँ सरकारमा ? हामीले समर्थन गरेर सरकार बनाएका छौं, गठबन्धन हुन्छ ?’ एमाले दलका नेता कार्कीले भने, ‘हामीलाई कसैले निकाल्न सक्दैन, हामी आफैं निस्कन्छौं निस्कन पर्दा ।’
उनले केन्द्रीय गठबन्धनसँग आफूहरु कहिल्यै पनि सँगै नहुने बताए ।
एमालेले बनाएको सरकार भएका कारण सहमतिको सरकार सम्भावना नरहेको कार्कीले दाबी गरे । शक्ति बाँडफाडको विषय मुख्यमन्त्रीसँग केन्द्रित रहेकाले छलफलबाट टुंगोमा पुगिने उनको भनाइ छ ।
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बो एमाले सरकारमा बसेको हेर्न चाहदैनन् । उनले कार्की नेतृत्वको सरकारबाट बाहिएर एमाले प्रतिपक्षमा बस्नुपर्ने बताए ।
‘गठबन्धनको कमजोरी र संविधानको केही प्रावधानलाई ख्यालमा राखेर जबरजस्ती एमाले गठबन्धनभित्र घुसेको छ’, आङ्बोले भने, एमाले चाँडो भन्दा चाँडो सरकारबाट बाहिरिएर आफ्नो नैतिकता प्रदर्शन गरोस् ।’
















नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया