भोजपुरमा बन्यो अन्तर्राष्ट्रियस्तरको रङ्गशाला

टक्सार । भोजपुरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गरिएको छ । निर्माण कार्य पूरा भएसँगै जिल्ला समन्वय समितिलाई चाबी हस्तान्तरण गरिएको छ ।
सहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुटाका इन्जिनियर शिवकुमार शाहले जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईलाई बुधबार रङ्गशालाको चाबी हस्तान्तरण गरेका हुन् ।
रङ्गशालाको चाबी बुझ्दै प्रमुख राईले भने, “खेल मैदान नहुँदा खेलाडीमा निराशा छाएको थियो, अब रङ्गशाला बनेको छ, यसको संरक्षण र सम्वद्र्धन गर्दे ठूला प्रतियोगितासमेत सञ्चालन गर्न सकिन्छ ।” रङ्गशालाको संरक्षणका लागि कार्यालयले सम्बन्धित निकायसँग समन्वय गर्ने बताए ।
तत्कालीन जिल्ला विकास समितिले रङ्गशाला निर्माणका लागि २०६४ सालमा जग्गा खरिद गरेको थियो । सहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुटाले हेर्ने गरी प्रदेश सरकारको रु १४ करोड लगानीमा रङ्गशाला निर्माण भएको हो । रङ्गशालाको निर्माणको जिम्मा रायमाझी मार्सेली निर्माण जेभीले पाएको थियो । सुविधा सम्पन्न रङ्गशाला बनेपछि स्वामित्व कसले लिएर सञ्चालन गर्ने भन्ने समस्या पनि समाधान भएकाले अब खेलकुद प्रतियोगिता सञ्चालन गर्न पाइने भोजपुर जिल्ला फुटबल सङ्घका महासचिव तुफान किरातले बताए ।
उनले भने, “प्रदेश सरकारको लगानीमा बनेको रङ्गशाला प्रयोगमा ल्याउने विषयमा टुङ्गो लाग्न सकेको थिएन, सम्बन्धित कार्यालयले निर्माण पश्चात समन्वय समितिलाई स्वामित्व हस्तान्तरण गरेको छ, प्रतियोगिता सञ्चालनका लागि अब सहज भयो ।”
करिब पाँच हजार दर्शक अट्ने क्षमताको अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माणले भोजपुरवासी तथा खेलाडीमा उत्साह जगाएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए । उनले निर्माण कार्य सकिएर चाबीसमेत हस्तान्तरण भएकाले सानो मैदानमा खेलकुद प्रतियोगिता गराउनुपर्ने बाध्यताको समेत अन्त्य भएको बताए ।
सुविधासम्पन्न रङ्गशालाको अभावमा सदरमुकाममा रहेको स्थानीय टुँडिखेलमा प्रतियोगिता सञ्चालन गर्नुपर्ने बाध्यता रहँदै आएको थियो । नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल अल्ट्रा धाविका मीरा राई, ब्याडमिन्टन खेलाडी विकास श्रेष्ठ, नक्सलदेवी तामाङ, सरादेवी तामाङलगायत विभिन्न खेलका खेलाडी भोजपुरबाट उत्पादन भएका थिए ।
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया