पालिकास्तरीय अस्पताल भवन निर्माण अलपत्र

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–५ हाँडेभिरमा निर्माणाधीन पालिकास्तरीय अस्पतालको भवन अलपत्र बनेको छ ।
सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनानुसार विसं २०७७ पुुसमा मङ्गलाको केन्द्र बाबियाचौरसँगै रहेको हाँडेभिरमा भवन शिलान्यास भएको थियो ।
प्रारम्भिक चरणको काम सुरु भएको भवन निर्माण दुई वर्षदेखि रोकिएको मङ्गला गाउँपालिका–५ का वडाअध्यक्ष भुपेन्द्र खत्रीले बताए । “निर्माण सकिनुपर्ने समयसम्म दश प्रतिशत पनि भौतिक प्रगति भएको छैन,” उनले भने, “डिपिसी गरेर ठडाएको पिल्लर लेउ लागेको छ । ठेकेदार काममा फर्किएका छैनन् ।”
भवन निर्माणका लागि ओमबुद्ध इन्टरनेसनल कन्स्ट्रक्सन काठमाडौँसँग २०७८ साल असारमा रु नौ करोड ११ लाखमा ठेक्का सम्झौता गरिएको थियो ।
भवनको कूल रु १२ करोड ९७ लाखको लागत अनुमान गरिएको थियो । २०८० साल असार महिनासम्म भवन निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । ३५ वटा कोठा हुुने भवनको विसं २०७७ पुस १५ गते गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले शिलान्यास गरेका थिए । १० शय्या क्षमताको अस्पतालका लागि एक हजार एक सय २४ दशमलव ६४ वर्गमिटर क्षेत्रफलमा दुई भवन निर्माण थालिएको थियो ।
आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षसहितको भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गतामैत्री भवन बनाउन लागिएको थियो । निर्माणाधीन भवन गत महिना पोक–नेटा–अर्मन सडकबाट आएको पहिरोले पुरिएको छ ।
अस्पतालका लागि अर्मन स्वास्थ्यचौकी परिसरमा पाँच वर्षअघि आठ रोपनी जग्गा व्यवस्थापन गरिएको थियो । मुुख्य र सहायक ठेकेदारको विवादका कारण भवन निर्माण अलपत्र परेको हो । सहायक ठेकेदार प्रवीन सापकोटाले मुख्य ठेकेदार ओमबुद्धका सञ्चालकले पालिकाबाट लगेको बजेट आफूलाई नदिएकाले काम गर्न नसकेको बताए ।
मङ्गला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेलले पटक पटक ताकेता गर्दा पनि निर्माण कम्पनी काममा नफर्किएको बताए । कार्यपालिकाले साउनमा नौ महिनाको म्याद थप गरेको थियो । भवन निर्माणलाई निरन्तरता नदिएकाले धरौटी जफत, ठेक्का तोड्ने र कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको प्रशासकीय अधिकृत पौडेलले बताए ।
धवलागिरि गाउँपालिकाको ताकममा निर्माणाधीन पाँच शय्या क्षमताको अस्पताल भवन पनि अलपत्र बनेको छ । अन्नपूर्ण गाउँपालिका–१ दोबामा करिब रु पाँच करोड लगानीमा निर्माण भएको पाँच शय्या क्षमताको अस्पताल भवन प्रयोगमा आएको छैन ।
















अभिनेता सुनील थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि
अण्डाको मूल्यमा भारी गिरावट
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
गुल्मी–२ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती
प्याब्सन क्रिकेट लिगको ट्रफी सार्वजनिक
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
कस्ताे रहला आज देशभरकाे माैसम ?
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
प्रतिक्रिया