सोमबार, माघ २६, २०८२

ई-सेवाको कर्मचारी भन्दै १५ लाख ठग्ने ५ जना पक्राउ

मेरोन्यूज २०८० कार्तिक १२ गते १७:५४

काठमाडौँ । ई-सेवाको कर्मचारी भन्दै १८ जनाबाट १५ लाख रुपैयाँभन्दा बढी ठगेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले रौतहटको गौर नगरपालिका ५ का २६ वर्षीय नवनित कुमार कुशवाहा, सोही ठेगानाका २१ वर्षीय कन्हैया कुमार कुशवाहा, २१ वर्षीय रितेश कुशवाहा, रौतहटको गढिमाई नगरपालिका ५ का १९ वर्षीय दिपेन्द्र कुमार यादव र गौर नगरपालिका ५ का २० वर्षीय अभयकुमार यादवलाई ठगी आरोपमा पक्राउ गरेको हो ।

कार्यालयका प्रवक्ता एसपी रविन्द्र रेग्मीले पीडितहरूका मोबाइलमा फोन गरेर ‘म ईसेवाका कर्मचारी हुँ, तपाईको ईसेवा आईडी बैंक खातासँग जोड्न तथा खाता नविकरण, केवाईसी फारम अपडेट, स्टेटमेन्ट भेरिफाइ, सेक्युर ट्रान्सफर चार्ज नलाग्ने र ५० प्रतिशत क्यास ब्याक रकम उपलब्ध भन्दै विश्वासमा पारेर ठगेको जानकारी दिए ।

विश्वास दिलाएर उनीहरुले पीडितहरुको मोवाइलमा जाने एक पटक प्रयोग गर्न मिल्ने पासवार्ड (ओपीटी) पठाउन लगाएर ईसेवाका ग्राहकको खाताबाट रकम निकाल्ने गरेको पाइएको उनले बताए ।

ईसेवामा जोडिएका बैंक खातामा समेत पहुँच पुर्‍याएर रकम निकाल्ने गरेको अनुसन्धानबाट खुलेको छ। यसरी ठगी गर्ने गिरोहका ५ जनालाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुले १८ जनाको खातामा १५ लाख २० हजार ९०१ रुपैयाँ ठगी गरेको रेग्मीले बताए । उनीहरूलाई ठगी सम्बन्धि कसुरमा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया