घारखोलामा पुल निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमाना घारखोलामा मोटर चल्ने पुल निर्माण भएको छ । पोखरेबगरबाट नेपाने हुँदै पाउद्धार जोड्ने सडकअन्तर्गत घारखोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माण भएको हो ।
अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष राजेश तिलिजाले घारखोलामा निर्माण भएको मोटरेबल पुलमा यातायातका साधन सञ्चालन हुन थालेका जानकारी दिए । “मोटरेबल पुल र पहुँचमार्ग निर्माण सकिएपछि सवारीसाधन आवतजावत गर्न थालेका छन्”, उनले भने , “यो पुल बनेपछि पोखरेबगर–पाउद्धार सडकमा बाह्रै महिना नियमित सवारी चल्ने भएको छ । बर्खामा खोला बढ्दा यातायात अवरुद्ध हुने समस्या हटेको छ ।”
घारखोलामा पुल नहुँदा दुई सय परिवारको बसोबास भएको सात वर्षअघि सडक पुगेको पाउद्धार गाउँ बर्खामा यातायात सम्पर्क विच्छेद हुने गरेको थियो । पुल नहुँदा बर्खामा पैदलयात्रा गर्न र घोडा खच्चरबाट ढुवानी गर्नुपर्ने बाध्यता हटेको वडा सदस्य पूर्ण पाइजाले बताए । फेवा–बिएम जेभी पोखराले २०७६ माघमा रु दुई करोड ८२ लाखमा निर्माणको ठेक्का लिएको थियो । तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले ठेक्का लगाएको आयोजना प्राधिकरण खारेज भएपछि सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास कार्यालय कास्कीमा हस्तान्तरण भएको थियो ।
विसं २०७८ साउन २४ गते सम्पन्न गर्ने सम्झौता भएको पुल परामर्शदाताले गरेको गलत डिजाइनका कारण सम्झौता गरेको करिब एक वर्षपछि निर्माण सुरु भएको थियो । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र पुल निर्माण गर्ने ठाउँको भूगोल तथा दूरी नमिलेपछि पुल निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीका प्रतिनिधिले बताएका छन् । भूकम्प प्रभावित सडकअन्तर्गत प्राधिकरणले पोखरेबगर–चित्रे सडक र घारखोला मोटरेबल पुल योजना छनोट गरेको थियो ।
पोखरेबगरबाट घार खिवाङ शिख हुँदै चित्रे जोड्ने १८ किलोमिटर सडक कालोपत्र गर्न २०७५ मङ्सिरदेखि सुरु भएको आयोजना अन्तिम चरणमा पुगेको छ ।
















सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
टी–२० विश्वकप खेलमा स्कटल्यान्डमाथि वेस्ट इन्डिजको रोमाञ्चक जीत
दुर्गा प्रसाईलाई तत्काल रिहा गर्न राप्रपाको माग
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
प्रतिक्रिया