व्यासगुफा शास्त्र र शक्तिको केन्द्रबिन्दु : सस्कृतिविद् डा गुरुङ

दमौली । वरिष्ठ संस्कृतिविद् डा जगमान गुरुङले व्यास ऋषिको जन्मभूमि दमौली शास्त्र र शक्तिको प्रमुख केन्द्रबिन्दु रहेको बताए । तनहुँको व्यास नगरपालिका–३ व्यासगुफा क्षेत्रमा बिहीबारदेखि सुरु भएको श्रीमद्भागवत ज्ञान महायज्ञको उद्घाटन गर्दै उनले व्यास ऋषिको जन्मभूमि, परासर ऋषिको तपोभूमि व्यासगुफा शास्त्र र शक्तिको प्रमुख केन्द्रबिन्दु भएको उल्लेख गरे ।
यही कात्तिक १ गतेदेखि जारी आठौँ विश्वओमकार तथा हिन्दू महामिलन पर्वअन्तर्गत विश्व हिन्दू महासङ्घ नेपाल स्याङ्जा शाखाको आयोजनामा महायज्ञ सुरु भएको हो । प्रमुख वाचक पण्डित नेत्रप्रसाद पण्डितको वाचकत्वमा सात दिन भागवत् कथा वाचन हुनेछ । विश्व हिन्दू महासङ्घ स्याङ्जाका अध्यक्ष हरिहर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा विश्व हिन्दू महासङ्घका उपाध्यक्ष शङ्कर खराल, शान्ति स्वरुपानन्द दामोदर बाबा, व्यासका अध्यता काशीनाथ न्यौपाने, पूर्वसांसद शङ्करप्रसाद पाण्डे लगायतले व्यासभूमिको महत्वका बारेमा चर्चा गरे ।
वेद अनुयायी प्रतिष्ठान नेपाल तनहुँका दुर्गाभक्त अधिकारीले व्यास भूमिलाई पौराणिक, आध्यात्मिक, धार्मिक, पुरातात्विक र ऐतिहासिक दृष्टिले परिचित गराउन र धार्मिक पर्यटन प्रवद्र्धन टेवा पु¥याउने उद्देश्यले कात्तिक १ गतेदेखि एकमहिने महामिलन पर्व आयोजना गरिएको बताए ।
विसं २०७४ कात्तिक १ गतेदेखि १८ महिनासम्म अखण्ड हरिकीर्तन गरिएको यस ठाउँमा त्यसैको निरन्तरता स्वरुप प्रत्येक वर्ष कात्तिक महिनामा यो कार्यक्रम आयोजना हुँदै आएको छ । महामिलन पर्वमा धर्मगुरु, सन्त, महन्त, विद्वान, बुद्धिजीवी एवं सम्पूर्ण ओमकार परिवारको उपस्थिति रहनेछ ।
महामिलन पर्वका अवसरमा वैदिक सनातन विधिअनुसार हीरण्यगर्भ भगवानी श्रीशालिग्राम तथा पञ्चायन देवताको षोडशोपचारले पूजा, वेद विभिन्न पुराण, रुद्री, चण्डि आदिको पाठ, धर्म गुरुहरुबाट दैनिक धार्मिक प्रवचनलगायतका कार्यक्रम सञ्चालन भइरहेको छ ।
पूर्वीय साहित्यका महाकवि वेदव्यासले यही भूमिमा महाभारत, चारवेद र अठार पुराणको रचना गरेको दाबी र विभिन्न स्रोतले प्रमाणित गरे पनि व्यासभूमिको उचित प्रसारप्रसार हुन नसकेपछि सरोकारवाला संस्था कस्सिएका हुन् ।
व्यासका अध्येता काशीनाथ न्यौपानेले जनताको तहबाट प्रयास सुरु भए पनि अझै यसले साकार रुप लिन नसकेको बताए । विभिन्न शास्त्रीय प्रमाणहरुले व्यासको जन्मभूमि दमौलीमा भएको स्वीकार गरिसके पनि प्रचारप्रसारको अभावमा यस क्षेत्रमा ओझेलमा परिरहेको उनको भनाइ छ । विसं २०४१ मा योगी नरहरिनाथले कोटीहोम लगाउने सिलसिलामा भएको धर्मसभामा महर्षी वेदव्यासको अवतरण भूमि दमौलीस्थित शुक्लामाहेन्द्री सङ्गम भएको भनाइ व्यक्त गरेका थिए । त्यसपछि यस क्षेत्रका बारेमा थप अध्ययन अनुसन्धान हुन थालेको व्यासका अध्येता न्यौपानेले बताए ।
आजभन्दा करिब ५५ सय वर्ष अगाडी व्यासको यस क्षेत्रमा अवतरण भएको धार्मिक विश्वास छ । व्यास ऋषिको जन्म बारेको प्रसङ्गमा दमौलीदेखि आठ किमी पूर्व छाब्दी बाराहको मन्दिरदेखि करिब ५० मिटर पश्चिमपट्टिको कुण्डमा व्यासकी माता सत्यवतीको जन्म भएको थियो, माछाका रूपबाट जन्म भएकीले त्यस कुण्डको नाम मच्छे कुण्ड रहन आएको बताएको छ ।
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्याउनुपर्छः सभापति थापा
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया