चीनमा तीव्ररुपमा फैलिरहेको छ रहस्यमयी रोग, कोरोनाजस्तै महामारी आउला ?
डब्ल्यूएचओले माग्यो जवाफ, तर चीन भने मौन

कोरोना महामारीको ३ वर्षपछि अगस्ट २०२३ मा चीनले सबै प्रतिबन्ध हटायो। त्यसको एक महिनापछि अर्थात् अक्टोबरमा नै यहाँ एक रहस्यमय रोग फैलिन थाल्यो । उच्च ज्वरोसँगै फोक्सो सुन्निने यो रोगका कारण दैनिक सात हजार बालबालिका अस्पताल पुग्ने गरेका छन् ।
कोरोना जस्तै यो रोग पनि संक्रामक भएको विज्ञहरुले बताएका छन् । यो चीनको एक शहरबाट अर्को शहरमा द्रुत रूपमा फैलिरहेको छ। यसबारे डब्ल्यूएचओले जवाफ मागिरहेको छ, तर चीन भने मौन छ।
स्वीडेनका सरुवा रोग विशेषज्ञ डा रामशंकर उपाध्यायलाई यस रोगबारे सोध्दा दिएका जवाफ:-
चीनमा फैलिरहेको श्वासप्रश्वासको रोग के हो ? रोगको कुनै नाम छ ?
चीनले यस रोगको तथ्यांक सार्वजनिक गरिरहेको छैन । डब्ल्यूएचओले यस रोगको बारेमा धेरै पटक चिनियाँ सरकारलाई सोधेको छ। चिनियाँ सरकारी अधिकारीले यो रोगलाई रहस्यमय निमोनिया भनेका छन् । कतिपयले यसलाई ‘वाकिङ’ निमोनिया पनि भनेका छन् ।
एक हिसाबले चीनमा फैलिएको रोगलाई निमोनिया भनिएको छ । यो रोग ब्याक्टेरियाको संक्रमणबाट सर्छ । यो ब्याक्टेरियालाई माइको प्लाज्मा निमोनिया ब्याक्टेरिया भनिन्छ।
निमोनिया कहिले र के कारणले सर्छ ?
५ वर्षसम्मका बालबालिकामा सामान्यतया जाडोमा माइको प्लाज्मा निमोनिया ब्याक्टेरियाबाट संक्रमण हुन्छ। जाडोमा निमोनिया सर्ने दुईवटा कारण:
१) चिसो समयमा वातावरण र शरीरको तापक्रम घट्छ। ८ डिग्रीदेखि १५ डिग्रीसम्मको तापक्रम यस ब्याक्टेरियाका लागि अनुकूल हुन्छ।
२) जाडोमा प्रदूषण धेरै हुन्छ। जसकारण यो ब्याक्टेरियाले यसबेला मानिसमा सजिलै संक्रमण गर्छ ।
के याे रोग सामान्य निमोनिया जस्तै हो ?
चीनको स्वास्थ्य अधिकारीले यो सामान्य निमोनिया रोग हो भनिरहेका छन्। त्यहाँ कुनै नयाँ रोग वा अन्य ब्याक्टेरिया वा भाइरस संग संक्रमण छैन। यद्यपि, नोभेम्बर १५, २०२३ मा, प्रो-मेड नामको एक निगरानी प्लेटफर्मले चीनमा निमोनियाको बारेमा विश्वव्यापी चेतावनी जारी गर्याे ।
सोही संस्थाले २०१९ मा कोरोनाबारे पनि अलर्ट जारी गरेको थियो । बेइजिङमा एकै दिन १३ हजार बालबालिकालाई अस्पतालमा भर्ना गरिएको संस्थाले जनाएको छ । अस्पतालमा दैनिक ७ हजारभन्दा बढी बालबालिका आउने गरेका छन् । यी सबैले सन् २०१९ को कोरोनाजस्तो अवस्थाको सम्झना गराएको छ । यो सबै हेर्दा सामान्य निमोनिया हो जस्तो लाग्दैन।
यदि यो चिनियाँ रोग सामान्य निमोनिया होइन भने के हो ? यसको कोरोनासँग के सम्बन्ध छ ?
कसैलाई निमोनिया भएमा ‘कफ’ पनि निस्कन्छ । तर अचम्मको कुरा के छ भने चीनको रहस्यमय निमोनियामा बालबालिकामा ‘कफ’ बनिरहेको छैन । उसको छातीको एक्स-रेमा फोक्सोमा नोड्युल अर्थात एक प्रकारको गोलो दाग देखिन्छ । यसलाई पल्मोनरी नोडल भनिन्छ। उनीहरुमा जसरी नोडल बनिरहेका छन् ती धेरैजसो ब्याक्टेरियाको संक्रमणमा बन्छन्, भाइरल संक्रमणमा त्यस्तो हुँदैन।
यस रोगबाट पीडित बालबालिकालाई हेर्दा माइको प्लाज्मा निमोनिया मात्र नभएर भाइरल इन्फेक्सन पनि भएको देखिन्छ । तिनीहरू एकै समयमा ब्याक्टेरिया र भाइरसबाट संक्रमित हुन्छन्। यसलाई क्रस संक्रमण भनिन्छ।
यदी यी संक्रमण एकसाथ भएका हुन् भने एकदमै गम्भीर छ । यस्ता अवस्थामा औषधिले पनि काम गर्दैन । बालबालिकामा माइको प्लाज्मा निमोनिया मात्रै भएमा त्यसका लागि औषधिहरू छन्। चीनमा बालबालिकामा औषधिले काम गरेको भए अवस्था नियन्त्रणमा हुने थियो । चीनले पनि यसलाई स्वीकार गरेको छ ।
किन यो रोग चीनमा द्रुत रूपमा फैलिरहेको छ ?
चीनको अवस्था बिग्रनुको एउटा कारण त्यहाँ कोरोना अवधिमा लागू गरिएको शून्य कोभिड नीति पनि हुन सक्छ। त्यसबेला लगाइएको कडाईका कारण धेरै बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता विकास हुन सकेन । उनीहरु आ–आफ्नो घरमै थुनिए ।
अहिले बाहिर निस्कँदा भाइरस र ब्याक्टेरियाको चपेटामा परेका छन् । उनीहरुको शरीरमा उनीहरुसँग लड्ने प्रतिरोधात्मक क्षमता छैन । जसका कारण यहाँ बालबालिका चाँडै बिरामी परिरहेका छन् ।
यो रोग बालबालिकामा मात्र सर्छ कि अरुलाई पनि ?
बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले यो रोगले बालबालिकालाई बढी असर गरिरहेको छ । यसको मतलब यो होइन कि रोग बच्चाहरुमा मात्र फैलिएको हो। रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका जोकोहीलाई पनि यो रोगले सिकार बनाउँछ ।
रोगका लक्षणहरू के के हुन् ?
यो रोगबाट संक्रमित हुँदा यी लक्षणहरू प्रायः देखिने गरेका छन् ।
-खोकी
– घाँटी दुख्ने
-ज्वरो
-फोक्सो सुन्निने
-श्वास नलि सुन्निने
के यो रोग एक व्यक्तिबाट अर्कोमा सर्न सक्छ ?
यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ। यस रोगबाट पीडित बिरामीको सम्पर्कमा आएमा रोग सर्छ । जसका कारण यो रोग फैलिने सम्भावना बढ्दै गएको छ ।
चीनमा फैलिएको यो रोग के अन्य देशहरूमा पनि फैलिन सक्छ ?
चीनका विभिन्न सहरमा यो रोग फैलिरहेको छ । खासगरी उत्तरी क्षेत्रमा यसको ठूलो प्रभाव परेको छ ।
चीनको छिमेकी देश भियतनाममा पनि केही केसहरू देखिएका छन्। यसबाट यो रोग फैलिरहेको स्पष्ट देखिन्छ। यस्तो अवस्थामा रोग अन्य देशमा पनि सर्ने सम्भावनालाई नकार्न सकिँदैन ।
के यो रोगले कोरोना जस्तो मृत्यु निम्त्याउन सक्छ ?
कोरोना भाइरल इन्फेक्सन थियो, यो ब्याक्टेरियल इन्फेक्सन हो। यद्यपी कोरोना भएपश्चात पनि निमोनिया हुने गर्थ्यो । धेरै बिरामीहरूलाई सास फेर्न गाह्रो हुँदा भेन्टिलेटरमा राख्नुपरेको अवस्था थियो ।
ब्याक्टेरिया संक्रमण रोक्न धेरै एन्टिबायोटिकहरू छन्। यसको प्रयोगले संक्रमणको प्रभाव कम गर्न सकिन्छ। तर, चीनको अवस्था हेर्दा यो ब्याक्टेरियाको संक्रमण मात्र नभएर अरु पनि केही हुनसक्छ भन्ने लाग्छ । यसबारे भने चीनले डाटा सेयर गरेपछि मात्र थाहा हुनेछ ।
यदी यो रोग ब्याक्टेरियाको संक्रमण मात्र हो भने एन्टिबायोटिकले बिरामीलाई मृत्यु हुनबाट बचाउन सकिन्छ ।
-एजेन्सीबाट
प्रतिक्रिया