बुधबार, माघ २१, २०८२

सुत्केरी र शिशु मृत्यु प्रकरण

लमजुङ अस्पतालमा तोडफोड, प्रहरीद्वारा लाठीचार्ज, ८ राउन्ड अश्रुग्यास प्रहार

मेरोन्यूज २०८० मंसिर १४ गते २०:२६

लमजुङ । शल्यक्रियाबाट निकालिएको शिशु मृत रहेको र उपचारको क्रममा सुत्केरीको पनि मृत्यु भएपछि पीडित पक्षले अस्पतालमा तोडफोड गरेका छन् ।

पीडित पक्षले बिहीबार बेंसीसहरस्थित लमजुङ अस्पतालमा तोडफोड गरेका हुन् ।
तोडफोडका कारण अस्पतालको मुख्य गेटमा रहेको डिजिटल बोर्ड, अस्पतालको झ्यालका सिसा र बत्तीहरु फुटेका छन् ।

मर्स्याङ्दी गाउँपालिका(९, पामचोक दलितबस्तीकी २६ वर्षीया गर्भवती शोभा विक र उनको शिशुको उपचारको क्रममा मृत्यु भएको थियो ।

गर्भवती विकलाई गाउँबाट ल्याएर सोमबार लमजुङ अस्पतालमा भर्ना गरिएको थियो । मंगलबार दिउँसो शल्यक्रियामार्फत शिशु निकाल्दा मृत जन्मिएको थियो । सुत्केरी आमाको रगत निरन्तर बगेको र नरोकिएपछि मंगलबार साँझ पौने ६ बजेतिर चितवन मेडिकल कलेज रिफर गरिएको थियो । अस्पताल पुग्नेबित्तिकै विकको मृत्यु भएको थियो ।

पीडितले लमजुङ अस्पतालले राम्रोसँग उपचार नगरेको, रिफर गर्नुपर्ने बिरामीलाई रिफर नगरी राखेको लगायतको आरोप लगाएका छन् । घटनाबारे छानबिन गर्न छानबिन तथा अध्ययन समिति गठन गरिएको छ ।

घटना छानबिन गर्न गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काको संयोजकत्वमा ६ सदस्यीय छानबिन तथा अध्ययन समिति गठन भएको छ ।

तर छानबिन समिति घटनास्थलमा आउन ढिला गरेको भन्द्यै पीडित पक्षले प्रर्दशन थालेका थिए । त्यही क्रममा उनीहरु अस्पताल तोडफोडमा उत्रेका थिए ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रदर्शनकारीमाथि लाठीचार्ज गरेको थियो । प्रहरीले ८ राउन्ड अश्रुग्यास प्रहार गरेको छ । लाठीचार्ज र अश्रुग्यास प्रहारबाट प्रदर्शनकारी केही घाइते भएका छन् । अस्पतालको सुरक्षार्थ नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ ।

ढुंगा प्रहारबाट सुरक्षार्थ खटिएका २ जना प्रहरी पनि घाइते भएका छन् । घाइतेको उक्त अस्पतालमै उपचार भइरहेको छ ।

शिशु र सुत्केरीको मृत्यु घटनाबारे अस्पतालले औपचारिक रुपमा केही बोलेको छैन ।

प्रतिक्रिया