मापदण्डविपरीत कच्ची सडकमै गुड्छन् अटोरिक्सा

ढोरपाटन (बागलुङ) । यहाँका ग्रामीण तथा बजारमा पछिल्लो समय अटो रिक्सा चल्न थालेका छन् । बजार अटो रिक्सा नगरपालिकासँग अनुमति लिएर सञ्चालन गरिए पनि ग्रामीण क्षेत्रमा भने आफूखुसी सञ्चालन हुँदै आएको छ ।
अनुगमनको अभावमा समथर भू–भागका पक्की सडकमा गुड्ने रिक्सा पहाडी कच्ची सडकमा गुडिरहँदा दुर्घटनाको जोखिम बढाउनाका साथै बजार क्षेत्रमा भीडभाड पनि बढाएको छ ।
ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारदेखि तमानखोला गाउँपालिकाको बोङ्गादोभान, निसीखोलाको झिवाखोला, जुग्जाखोला, निसी र बडिगाड क्षेत्रमा अटो चल्ने गरेका छन्, भने सदरमुकाम बागलुङ बजारदेखि कालिका मन्दिर, मालढुङ्गा, उपल्लोचौर, पञ्चकोट, सिगाना, भकुण्डे, खहर र काठेखोलामा पनि अटो सञ्चालन हुँदै आएको छ ।
बुर्तिबाङ बजारदेखि तमानखोलासम्मको कच्ची सडकमा अटो चलिरहेका छ । निसीखोला क्षेत्रमा कालोपत्र भए पनि रिक्सा सञ्चालनका लागि उपयुक्त छैन । बागलुङ बजारदेखि उपल्लोचौर, कालिका मन्दिर र खहरेसम्म बागलुङ नगरपालिकाले अनुमति दिए पनि पञ्चकोट, सिगाना र भकुण्डेमा कच्ची सडकका कारण अनुमति नहुँदा पनि चालकले मनपरी अटो चलाइरहँदा हालसम्म एक दर्जन दुर्घटना भएका छन् ।
बुर्तिबाङ बजारदेखि ग्रामीण क्षेत्रमा चल्ने अटोले अनुमति नलिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद ज्ञवालीले बताए। पछिल्लो समय दिन प्रतिदिन अटो बढ्दै गएपछि व्यवस्थापन गरेर सञ्चालनका लागि नगरपालिकाले योजना बनाएको उनको भनाइ थियो । “धेरै समय भयो, यहाँ अटो सञ्चालन भएको, बजारबाट गाउँ–गाउँसम्म चल्छन्, अहिलेसम्म चलेका कुनै पनि अटोलाई नगरपालिकाबाट अनुमति दिएका छैनौँ, आ–आफ्नै हिसाबले चलेका छन्, अब सहीरुपमा व्यवस्थापन गरी सञ्चालनका लागि विभिन्न निकायसँग समन्वय गर्छौँ” प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले भने – “ग्रामीण सडक अहिले कच्ची छन्, अप्ठ्यारा छन्, त्यस्तो सडकमा अटो चलाउन उचित हुँदैन, व्यवसायीले पनि बुझन् जरुरी छ, दुर्घटनापछि पछुताउनुभन्दा अहिले नै सचेत हुन जरुरी छ, हामीहरु व्यवस्थापन गर्नका लागि सचेत छौँ ।”
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मीनबहादुर खड्काले बागलुङ नगरपालिकाले ‘रुट प्रमिट’ दिएका स्थानबाहेक अन्य ठाउँमा पनि अटो सञ्चालन हुने गरेको बताए। कच्ची सडकमा चल्दा धेरै ठाउँ दुर्घटनामा पनि परेकाले ट्राफिक प्रहरीले अटेर गरी तोकिएभन्दा बाहिर सञ्चालन गर्ने चालकलाई कारबाहीसमेत गरेको उनले जानकारी दिए । प्रमुख खड्काले बजार क्षेत्र, लोकमार्ग र कुँडुलेसम्मका लागि मात्रै अटो सञ्चालनका लागि अनुमति दिइएकामा चालकले क्षमताभन्दा बढी यात्रुसमेत राख्ने गरेको बताए। बागलुङ नगर उपप्रमुख राजु खड्काले पछिल्लो समय अटो बढ्दै जाँदा बजारमा यात्रुलाई समस्या हुने गरेको बताए ।
सुरुमा युवाहरुले बेरोजगार भयौँ अटो रिक्सा सञ्चालन गर्छौँ भनेर आग्रह गरेकाले नगरपालिकाले अनुमति दिएकामा अब थप व्यवस्थापन गर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो । उपप्रमुख खड्काले भने, “छोटो दूरीमा यात्रा गर्नलाई अटो केही सहज भएको छ तर अनुमति दिएको ठाउँबाहेक अन्यत्र पनि चलाउनेलाई कारबाही गर्छौँ, अहिलकै अवस्थामा अटो सञ्चालन हुने हो भने जुनसुकै बेला पनि दुर्घटना हुनसक्छ ।”


















एसईई दिएका विद्यार्थीका लागि एनसेलको निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा
‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी : आयल निगम
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया