काभ्रेमा एम्बुलेन्स सञ्चालनलाई व्यवस्थित बनाउन छानबिन समिति गठन

काभ्रेपलाञ्चोक । बिरामीलाई थप सहज एवं सुरक्षित बनाउन काभ्रेपलाञ्चोकमा ‘जिपीएस’ जडित सुविधायुक्त एम्बुलेन्स सञ्चालन गरिने भएको छ । यसका लागि जिल्लास्तरमा सञ्चालित एम्बुलेन्सको अवस्था, वर्ग र समस्या तथा चुनौतीबारे अध्ययन गरी एम्बुलेन्स सञ्चालनलाई थप व्यवस्थित बनाउन छानबिन समिति गठन गरिएको छ ।
जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको बैठकले जिपीएसजडित सुविधायुक्त एम्बुलेन्स सञ्चालन गर्न प्रारम्भिक चरणमा उक्त निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिईन् । समितिको संयोजक प्रजिअ रहने व्यवस्था छ । सरोकारवाला सम्मिलित बैठकले पहिलो चरणमा जिल्लामा भएका सरकारी निकाय, सामाजिक संस्था तथा व्यक्तिद्वारा सञ्चालित सम्पूर्ण एम्बुलेन्सको अवस्थाका बारेमा जानकारी लिइने भएको हो ।
जिल्लामा जिपीएसजडित सुविधायुक्त एम्बुलेन्स सञ्चालन गर्ने उद्देश्यले जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख सहसंयोजक रहनेगरी मेथिनकोट अस्पताल, धुलिखेल अस्पताल र स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख रहनेगरी चार सदस्यीय छानबिन समिति गठन गरिएको छ । उक्त समितिले तीन हप्ताभित्र प्रतिवेदन समितिलाई हस्तान्तरण गर्ने समयसीमा तोकिएको छ । काभ्रेमा छ नगरपालिका र सात गाउँपालिका छन् ।
यस्तै एम्बुलेन्सलाई मापदण्डअनुसार सञ्चालनका लागि राष्ट्रिय एम्बुलेन्स निर्देशिका–२०७८ को उफदफा १, को (छ) बमोजिम दुई महिनाको अवधि दिई सूचना प्रकाशित गर्ने र आवश्यक समन्वयका लागि स्थानीय तहमा अनुरोध गर्ने निर्णय गरेको छ । त्यस्तै स्थानीय तथा प्रादेशिक अस्पताल र स्वास्थ्य संस्थालाई सञ्चालनमा ल्याइएका एम्बुलेन्समा जिपिएस जडान गरी ‘स्तरोन्नति मापदण्ड’बमोजिम सञ्चालन गर्न अनुरोध गर्ने जनाइएको छ । प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समितिमार्फत एम्बुलेन्स चालक र त्यसमा रहने स्वास्थ्यकर्मीको प्रशिक्षण एवं तालिम दिइने व्यवस्था मिलाइने योजना बनाइएको प्रजिअ शर्माले बताईन् ।
यसअघि कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै विसं २०७७ जेठदेखि काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा केन्द्र रहनेगरी काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा सञ्चालन हुने सम्पूर्ण एम्बुलेन्सलाई व्यवस्थित गर्न जिपिएस जडान गरी ‘एकीकृत एम्बुलेन्स सेवा’ सञ्चालनमा ल्याइएको थियो । धुलिखेल अस्पतालका डा सानुकृष्ण श्रेष्ठका अनुसार धुलिखेल अस्पतालमा प्रेषण केन्द्र (डिस्प्याच सेन्टर) स्थापना गरी दुई जिल्लाका एम्बुलेन्सबीच समन्वयात्मकरूपमा सञ्चालन गरिएको थियो ।
काभ्रेपलाञ्चोकका ४२ र सिन्धुपालचोकको ३१ एम्बुलेन्समा जिपीएस प्रणाली जडान गरेर एम्बुलेन्सको वर्गीकरण गरी सञ्चालन गरिएको जनाइयो । बिरामी तथा बिरामीका आफन्तले नेपाल टेलिकमको मोबाइल तथा ल्याण्डलाइन टेलिफोन प्रयोकर्ताले १०२ नम्बरमा फोन गरेपछि धुलिखेल अस्पतालको डिस्प्याच सेन्टरले बिरामीको नजिक रहेको एम्बुलेन्सको व्यवस्थापन गर्ने प्रणाली व्यवस्थित गरिएको थियो ।
















लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी
जुम्लामा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
कामपाले १० वटा वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने
सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफलमा प्रधानमन्त्री
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
प्रतिक्रिया