सखिया नाचको गीतले थारु बस्तीमा रौनक

दाङ, माघी पर्व नजिकिएसँगै थारु बस्तीमा सखिया नाचको गीतले यतिबेला रौनक छाउन थालेको छ । थारु समुदायमा यतिबेला ‘माघी पर्व’ को चहलपहल सुरु भएसँगै गाइने पुरानो गीत ‘सखिए हो’ अहिले सबैको जनजिब्रोमा छाएको छ । दाङका थारु बस्ती माघीमय भएका छन् ।
पश्चिम नेपालको दाङका थारु बस्तीमा मादलुको तालमा खेलिने सखिया नाचले सबै उमेरका व्यक्तिमा नयाँ उमङ्ग एवं उत्साह जगाउने गरेको छ । सखिया नाचले थारु समुदायको सदियौँदेखिको वेषभूषा, परम्परा र लोकसंस्कृति झल्काउने गरेको घोराही उपमहानगरपालिका–७ का ७२ वर्षका थारु अगुवा बेझलाल चौधरी बताउछन् ।
पुस्तौँदेखि मनाइँदै आएको ठूलो चाड माघी पर्व मनाउन थारु समुदायका घरमा विषेश तयारी भइरहेको छ । चौधरीले भन्नुभयो, “नयाँ वर्षका रुपमा माघी पर्वलाई उत्सवका साथ मनाइन्छ, घरमा पकाइएका खानाका मिठा परिकारको खानपिन र नाचगान गरेर रमाइलो गरिन्छ ।” थारु समुदायका बस्तीमा माघीको सखिया नाचका मादल घन्किएका छन् । युवायुवतीले आफ्नो वेषभूषामा सजिएर नाचगान गरी माघीको तयारी गरिरहेका छन् । घोराही–४ सुनपुरका धनकुमारी चौधरीले थारु बस्तीमा माघीको तयारी भइरहेको बताए ।
उनले भने, “पुरुष घर बाहिरको चाजोपाँजो मिलाउन व्यस्त हुनुहुन्छ । महिला खानपिनको तयारीमा छौँ, दाउरा, पातको बन्दोबस्ती गरिसकेका छौँ । ढिक्री, अनदीको भात रोटी, पुरी, घोघी र घरकै अन्न प्रयोग गरी जाँडलगायतका खानाका मिठा परिकारका लागि चाहिने वस्तुको व्यवस्थापन गर्न व्यस्त छौँ ।” माघमा नाचिने मघौटा नाचको तयारी पनि भइरहेको छ ।
बेलुकाको खानापछि गाउँका दिदीबहिनी मतवाको घरमा जम्मा भएर नाचको तयारी गर्ने गरेको उनले बताए । सखिए नाचको मादलले गाउँघर रमाइलो भएको छ । थारु संस्कृतविद् अशोक थारुले आधुनिकताका कारण थारु संस्कार, संस्कृति ओझेलमा पर्न थालेकाले यसलाई सबैले जगेर्ना गर्नुपर्ने बताए । थारु समुदायका व्यक्तिले माघीको अघिल्लो दिन रातभरि आगोको धुनी बालेर ताप्ने गर्दछन् ।
गाउँभरिका मानिस एकै स्थानमा जम्मा भएर आगो ताप्ने र भालेबासेसँगै नदी या खोलामा नुहाउने गर्दछन् । नुहाएर आएपछि आफूभन्दा ठूलालाई ढोग गरी आशीर्वाद लिएर घरमा आएपछि खिचडी दान गर्ने गरिन्छ । खिचडीमा मासको दाल, चामल र नुन राखिएको हुन्छ । यो खिचडी पुर्खा, देवीदेवता र चेलीबेटीका लागि छुट्याइएको हुन्छ ।
उनले भने, “माघमा नाचगान, खानपिन र वार्षिक कार्ययोजनालाई विशेष महत्वका साथ हेर्ने गरिन्छ, पुसको महिना तयारी गर्ने र माघमा गाउँघरमा मघौटा नाच हुने गर्दछ, त्यसको तयारी एक महिनाअघिदेखि गरिन्छ, माघीपर्वसँगै गाउँको मुख्य व्यक्तिका रुपमा रहने भलमन्सा (बडघर)लगायत छनोट हुने गर्छ ।”
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
प्रतिक्रिया