रुकुम पश्चिममा जग्गाप्राप्तिका लागि निस्सा वितरण प्रक्रिया सुरु

त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएका लाभग्राहीले निस्सा प्राप्त गरेका छन् ।
पालिकामा रहेका एक सय सात भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसाबास गर्दै आएका लाभग्राहीले निस्सा प्राप्त गरेका हुन् ।
जिल्लाको त्रिवेणी गाउँपालिकाबाट भूमिहीन लाभग्राहीलाई निस्सा वितरण गर्न सुरु गरिएको हो । आइतबार लाभग्राहीलाई गाउँपालिकाको कार्यालयमा बोलाएर २३ भूमिहीन दलित, दुई सकुम्बासी र ८२ अव्यवस्थित लाभग्राहीले जग्गाप्राप्तिका लागि निस्सा प्राप्त गरेको राष्ट्रिय भूमि आयोग रुकुमपश्चिमका विज्ञ सदस्य सुशील विष्टले जानकारी दिए ।
उनका अनुसार भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्दै आएका व्यक्तिका लागि निस्सा प्राप्त गर्नु भनेको जग्गाप्राप्तिका लागि पहिलो आधार हो । अब उनीहरुका लागि जग्गाप्राप्तिको प्रक्रिया सुरु हुने उनले बताए ।
“भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थितरुपमा बसोबास गर्दै आएका व्यक्तिले जग्गा पाउँ भनेर निवेदन पेस गरेका थिए, सोही निवेदनका आधारमा उनीहरुलाई जग्गाप्राप्तिका लागि निस्सा वितरण गरेका छौँ, अब दोस्रो चरणमा उनीहरुले दाबी गरेको जग्गा नापजाँच गछौँ र तेस्रो चरणमा सबै प्रक्रिया पुगेकालाई पुर्जा वितरण गर्छौं”, उनले भने ।
जग्गाप्राप्तिका लागि दाबी विरोधको सूचनामा लाभग्राहीको नाम निश्चित भएर आउनुपर्ने हुन्छ । दाबी विरोधमा लाभग्राहीको नाम निश्चित नभएमा भने जग्गा प्राप्त गर्न नसक्ने विज्ञ सदस्य विष्टले जानकारी दिए । दाबी विरोधका लागि केही दिनभित्र सूचना प्रकाशन गरिने बताइएको छ ।
अव्यवस्थित बसोबास गर्दै आएका लाभग्राहीले जग्गा पाउने निश्चित भएमा सात हजार वर्गमिटरसम्म जग्गा प्राप्त गर्न सक्नेछन् । भूमिहीन दलित तथा सुकुम्बासीले आवासका लागि तीन सय वर्गमिटर र कृषिका लागि एक हजार वर्गमिटर जग्गा प्राप्त गर्ने राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष मीनबहादुर ओलीले जानकारी दिए ।
अध्यक्ष ओलीकाअनुसार छनोटमा परेका लाभग्राहीलाई भोगचलन गर्दै आएको जग्गा उपयुक्त भएमा सोही ठाउँकै जग्गा दिने र त्यहाँ उपयुक्त नभएमा भूमि आयोग तथा स्थानीय सरकारको निर्णयअनुसार उपयुक्त ठाउँ खोजेर जग्गा प्रदान गरिने जनाइएको छ । भूमिहीन दलित तथा सुकुम्बासी हाल भाडाको घर तथा अर्काको घरमा बस्दै आएका छन् ।
जिल्लामा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएका एक हजार आठ सयभन्दा बढी लाभग्राहीले जग्गाका लागि निवेदन दिएको बताइएको छ । त्रिवेणी गाउँपालिकाबाट सुरु भएको निस्सा वितरण कार्यक्रम जिल्लाका छ वटै स्थानीय तहमा सञ्चालन गरिने राष्ट्रिय भूमि आयोगले जनाएको छ ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया