शनिबार, माघ १७, २०८२

महावु गाउँपालिकामा ६८ वटा योजना सम्झौता

मेरोन्यूज २०८० माघ ७ गते १८:१९

काठमाडौं । जिल्लाको महावु गाउँपालिकाले वडास्तरमै पुगेर ६८ वटा योजना सम्झौता गरेको छ । वडाका नागरिकले सहजै वडामै सुविधा प्राप्त गरुन् भन्ने उद्देश्यले वडास्थरको अभियान थालिएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष मञ्जु पाण्डेले बताए ।

वडामा पालिकाको टोली मात्र पुगेन खाता खोल्नका लागि बैंकका कर्मचारीसमेत पुगेर खाता खोल्ने काम सँगसँगै गरेपछि जनतालाई योजना सम्झौता गर्न र बैकमा खाता खोल्न लाग्ने खर्चसमेत बचत हुनाका साथै जनता पनि खुसी भएका उनले जानकारी दिए ।

छ वटा वडाका ६८ वटा योजनामा सम्झौता सकिएको छ, खानेपानी, सडक, धारो कुवा, पानी, मन्दिर, कुलो निर्माणलगायत योजनाको सम्झौता गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदय उपाध्यायले जानकारी दिए ।

उपभोक्ता समितिका अध्यक्ष, कोषाध्यक्ष, सचिवलगायत जिम्मेवार व्यक्तिलाई वडामै बोलाएर, योजना सम्झौता प्रक्रिया, प्राप्त भएको बजेट, योजना खरिद प्रक्रिया, भुक्तानी प्रक्रिया, योजनाको दिगोपना र गुणस्तरीयता कसरी कायम गर्ने भन्नेबारेमा उपभोक्ता समितिलाई अभिमुखीकरण गराइएकोे उनले जानकारी दिए ।

हरेक योजनालाई कसरी प्रभावकारी बनाउने, योजनामा जनताको अपनत्व कसरी गर्ने, अनुगमन समितिको काम कर्तव्य र अधिकार के हो, पालिकाको अनुगमन टोलीलाई कहिले बोलाउने र जनश्रमदान के हो भन्ने विषयमा जानकारी गराइएकाकारण विकास निर्माणका काममा सहजता हुने आशा गरिएको प्रशासकीय अधिकृत उपाध्यायको भनाइ थियो ।

प्रतिक्रिया