बुधबार, फागुन २०, २०८२

नागरिकता किर्ते गरेर लाखौंकाे ठगी गर्ने ज्वाइँ–जेठान पक्राउ

मेरोन्यूज २०८० माघ २४ गते २१:११

काठमाडौं । वैदेशिक रोजगारीका लागि युरोपियन मुलुक पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ ।

Advertisement
nepal life insurencenepal life insurence

पक्राउ पर्नेमा सर्लाही हरिवन नगरपालिका घर भई हाल ललितपुर महानगरपालिका-९ नख्खु बस्ने ३५ वर्षीय रामेश्वर सिंह र धनुषा मिथिला नगरपालिका-२ नक्टाजिच घर भई हाल ललिपुर-१८ बस्ने २७ वर्षीय रामसेवक सिंह छन्।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार ललितपुर-९ मिलन टोलबाट पक्राउ गरेको हो।

कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक मिलन केसीका अनुसार उनीहरूले राजकुमार बजगाईंसहित ५५ जनालाई युरोपियन मुलुक पठाइदिने भन्दै ६३ लाख रुपैयाँ ठगी गरेको पाइएको छ।

प्रतिव्यक्ति सात लाख रुपैयाँ लाग्ने र युरोप पुगेपछि मासिक १ लाख ५५ हजार रुपैयाँ तलब हुने भन्दै दुबै जनालाई पटक-पटक गरी पीडितहरूबाट उक्त परिमाणको रकम उठाएको केसीले बताए।

‘रकम उठाएर सम्पर्कविहीन भएपछि पीडितहरूले जाहेरी दिएका थिए,’ केसीले भने, ‘खोजी तथा अनुसन्धानको सिलसिलामा दुबै जनालाई उनीहरू बसेको स्थानबाट पक्राउ गरिएको हो।’ केसीका अनुसार रामेश्वर सिंहले आफूलाई सरोज यादव र नागेन्द्र यादव बताउने गरेका थिए। रामसेवकले आफूलाई सरोज यादव रहेको बताउँथे।

रामसेवक रामेश्वरका ज्वाइँ हुन्। उनीहरूले अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर ओभरसिज नै खोलेको पाइएको छ।रामेश्वर बजाज ओभरसिजमा २०७४ सालदेखि कर्मचारीको रूपमा एक वर्ष काम गरेका व्यक्ति हुन्। उनले त्यही साल फागुनमा भेरी ओभरसिज किनेर सञ्चालन गरेका थिए।

उक्त ओभरसिजमा सक्रिय रहँदा उनले दुई सय जनाबाट तीन करोड ठगी गरेको पाइएको छ। उक्त ठगीमा उनी एक वर्ष ६ महिना जेल बसेर छुटेको केसीले बताए। भेरी ओभरसिजमा विदेश जान पेश गरेका धनुषाका सरोज यादव, नागेन्द्र यादव र गुरुदेव यादवको नागरिकताको प्रमाण पत्रमा उनले आफ्ना ज्वाइँ रामसेवकको फोटो टाँसे। त्यसबाट उनले विराट कन्सल्टेन्सी विर्तामोड, गडिमाई कन्सल्टेन्सी काठमाडौं र कमलामाई कन्सल्टेन्सी दर्ता गरेका थिए।

ती ओभरसिजबाट उनले रोमानिया, जर्मनी, अफगानिस्तान, क्रोएसिया पठाउने भनी ४८ जनाबाट प्रतिव्यक्ति सात लाख रुपैयाँसम्म उठाएका थिए। सरोज यादव, नागेन्द्र यादव र गुरुदेव यादवको नाममा कुमारी बैंक, एनआइसी एसिया बैंक र कामना विकास बैंकमा खाता खोलेको भेटिएको छ। ती तिनै बैंकमा कारोबार रामसेवक सिंहबाट गर्ने गरेको खुलेको छ।

यादवत्रयलाई भने आफ्नो नागरिकता दुरुपयोग भएर धेरै व्यक्ति ठगिएको जानकारी थिएन। उनीहरू सबै जना गाउँमा कृषि पेशा गरेर बस्थे। यता, पीडितहरूले सरोज यादव, नागेन्द्र यादवका विरुद्धमा वैदेशिक रोजगार विभागमा जाहेरी दिए। यसपछि अनुसन्धान गर्दै जाँदा ठगी कार्यमा रामेश्वर सिंहले आफ्ना ज्वाइँ रामसेवक सिंहको फोटो टाँसेर ती व्यक्तिको नागरिकता दुरुपयोग गरेको खुलेको केसीले बताए।

रामेश्वरविरूद्ध २०७८ सालमा ठगी मुद्दा दर्ता भएको थियो। उक्त मुद्दामा उनी फरार थिए। २०७९ सालमा सिन्धुली जिल्लामा लागुऔषध मुद्दा चलेकोमा उनी २४ दिन कैद र दुई जरिवाना भई मुक्त भएका थिए।

पक्राउ परेकाको साथबाट विभिन्न व्यक्तिका नाममा काटिएको ६० लाख बराबरको २५ थान चेक र ९ वटा सिम कार्ड फेला परेको छ।

दुबैविरूद्ध ठगी, किर्ते जालसाजी, बैकिङ कसुरलगायतका मुद्दामा अनुसन्धान हुने केसीले बताए

प्रतिक्रिया