सोमबार, माघ १२, २०८२

लुम्बिनी प्रदेशका पूर्व मूख्यमन्त्रीको टोलीद्वारा सडक निरीक्षण

मेरोन्यूज २०८० चैत १० गते १६:५०

लुम्बिनी । लुम्बिनी प्रदेशका पूर्व मूख्यमन्त्री लीला गिरीको टोलीले बेलबास–बेथरी–मर्चवार–खैराघाट सडकअन्तर्गत गुरवनिया–मर्यादपुर सडक खण्ड निर्माण कार्यको आज निरीक्षण गरेको छ ।

निर्माण अलपत्र रहेको उक्त सडक खण्डको पूर्वमुख्यमन्त्री गिरीको टोलीले स्थलगत रुपमा मर्चवार पुगेर निरिक्षण गरेको हो । स्थगलगत निरीक्षणपश्चात् गिरीले मर्चवार क्षेत्रको सडक विस्तारका लागि सरोकारवाला निकायसँग समन्वय गरी समस्या समाधान गरिने बताए । उनले मर्चवारको समृद्धिको मुख्य आधारका रुपमा रहेको चार लेन सडकको निर्माण कुनै बहनामा रोकिन नहुने बताए । निरीक्षणमा नेता गिरीसँगै राष्ट्रियसभा सदस्य गोपाल भट्टराई, पूर्वसांसद दधिराम न्यौपाने, सुनिता ठटेर, प्रदेशसभा सदस्य कन्हैया बानिया, पालिकाका जनप्रतिनिधि, राजनीतिक दलका नेता, कार्यकर्ता र नागरिक अगुवालगायत सहभागी थिए ।

रुपन्देहीको महत्वपूर्ण आयोजनाका रुपमा रहेको बेलबास–बेथरी–मर्चवार सडकअन्तर्गतका अधिकांश सडक निर्माण पूरा भए पनि मर्चवार क्षेत्रकै सडकखण्ड लामो समयदेखि अलपत्र थियो । हाल आएर सडक निर्माण कार्य अघि बढ्ने भएपछि छिट्टै सडक निर्माण हुने आशामा स्थानीय छन् ।

स्थानीय मुस्लिम खानले लामो समयदेखि काम अलपत्र पर्दा निराश भएको बेला निर्माणको काम अघि बढेपछि मर्चवारको मुहार फेरिने विश्वास व्यक्त गरे । पूर्वमन्त्रीसमेत रहेका ओमप्रकाश यादवले मर्चवार सडकलाई अगाडि बढाउन पहल गर्ने नेतृत्वलाई धन्यवाद दिए ।

प्रतिक्रिया