एकीकृत घुम्ती शिविरमा २३ हजार पशुको उपचार

दमौली । तनहुँको म्याग्दे गाउँपालिकामा सञ्चालित एकीकृत घुम्ती शिविरमा २३ हजारभन्दा बढी पशुको उपचार भएको छ । गत फागुन २१ गतेदेखि चैत ८ गतेसम्म सबै वडामा सञ्चालित शिविरबाट २३ हजार तीन सय ३६ पशुको उपचार भएको हो ।
उक्त शिविरबाट सात वटा वडाका एक हजार नौ सय २६ जना पशुपालक कृषक लाभान्वित भएको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा विनय शाहले जानकारी दिए । उनले भने, “गाउँपालिबाट प्रदान गरिने सबै सेवा वडा र टोलस्तरबाट प्रदान गर्ने सिलसिलामा पशु सेवा शिविर सञ्चालन गरेका थियौँ, शिविरमा गाईभैसी, बाख्रा, कुखुरा, बङ्गुरलगायत पशुको उपचार गरेका छौँ । टोलमै सेवा पाउँदा कृषकलाई पनि सजिलो भयो ।”
पशु चिकित्सक डा शाहका अनुसार उक्त पालिकाको वडा नम्बर १ स्थित बाख्रेमा एक हजार तीन सय ५५, टाक्राङमा दुई हजार दुई सय ४९, वडा नम्बर २ स्थित गुञ्जारामा आठ सय तीन, जामुनेमा दुई हजार दुई सय ३६, वडा नम्बर ३ स्थित किल्चोक र बेल्टारमा एक हजार चार, जनगणपति माविमा एक हजार एक सय ६९, वडा नम्बर ४ स्थित कोल्डाँडामा एक हजार आठ सय ४६, छिम्लेश्वारामा दुई हजार ५६, वडा नम्बर ५ स्थित छाङपाटनमा दुई हजार चार सय ४९, साउनेपानीमा दुई हजार १२ पशुको उपचार गरिएको हो ।
यसैगरी वडा नम्बर ६ स्थित सर्वलाङमा एक हजार नौ सय २३, वडा नम्बर ७ स्थित माझिलाङमा दुई हजार तीन सय ६०, रानीश्वारामा एक हजार आठ सय ७४ पशुको उपचार गरिएको छ । अन्य समयमा कृषकहरुले पशु नै सम्बन्धित पशु सेवा केन्द्रसम्म ल्याएर उपचार गर्नुपर्ने अवस्था रहेपनि घुम्ती शिविरका बेला पशु प्राविधिक नै टोलमै पुगेर सेवा दिएको डा शाहले बताए । उनले भने, “गाउँपालिकाले बेला बेलामा यसरी नै टोलतहसम्म पुगेर घुम्ती शिविर सञ्चालन गर्दा पशुपालक किसानलाई राहत पुग्ने गरेको छ ।”
घुम्ती शिविरबाटै बीमाको प्रचारप्रसार गरिएको थियो । आकस्मिक रोग तथा क्षति न्यूनीकरण गर्न पशुको बीमा गर्न कृषकलाई प्रोत्साहन गरिने डा शाहको भनाइ छ । पशुवस्तुको बीमाका लागि कृषकले बुझाउने रकम गाउँपालिकाको पशु सेवा शाखाबाट पुनः कृषकलाई प्रदान गरिने कार्यक्रम चालु आर्थिक वर्षमा पनि जारी रहेको उनले बताए । उनले भने, “पशु बीमा गरेपछि पशुको क्षति भएमा कृषकलाई क्षतिपूर्ति मिल्नेछ, बीमा निःशुल्क भएकाले यसको प्रचारप्रसारमा जोड दिएका छौँ ।”
पशु सेवा शाखाले घाँसमा आधारित पशुपालनलाई पनि जोड दिएको छ । पशुपालनको ७० प्रतिशत लागत आहारामा खर्च हुने हुँदा मौसम अनुसारको जै, सुपर नेपियर, मकेचरी वर्षिमलगायत घाँस खेती गरी घाँसमा आधारित पशु पालनबाट उत्पादन लागत घटाउँदै आम्दानी बढाउन कृषकलाई अनुरोध गरिएको डा शाहले बताए।
डा शाहका अनुसार घुम्ती शिविरमा आकस्मिक तथा महामारीजन्य रोग रोकथाम तथा न्यूनीकरणका लागि खोरेत, भ्यागुते, चरचरे, पिपिआर, स्वाइन फिबर र कुकुर बिरालोमा रेबिजविरुद्धको खोप लगाइएको थियो । उनले भने, “रेबिज नियन्त्रणका लागि चालु आर्थिक वर्ष २०८०-८१ भरी नै कुकुर बिरालोमा रेबिज विरुद्धको खोप निःशुल्क पशु सेवा शाखाबाट प्रदान हुँदै आएको छ ।”















जुम्लाको कुडारीमा आगलागी हुँदा एक जनाको मृत्यु
UML chair Oli undergoing health examinations at TUTH
ओली र लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने
ओली पक्राउ परेपछि एमाले केन्द्रिय सचिवालय बैठक च्यासलमा जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
प्रतिक्रिया