पर्वतका दुई विकट बस्तीमा खानेपानी सुविधा

पर्वत ।वषौँदेखि खानेपानीको समस्या झेल्दै आएका पर्वतका दुई विकट बस्तीमा खानेपानीको सुविधा पुगेको छ । फलेवास नगरपालिका–३ पुर्कोट र जलजला गाउँपालिका–८ नाङलीवाङको लुप्राङ गाउँमा खानेपानी सुविधा पुगेको हो । आकासे पानी घैँटामा सङ्कलन गर्ने र दैनिक एक गाग्री पानीका लागि घण्टौँ समय लगाएर पानीको जोहो गर्नुपर्ने यहाँका नागरिकको समस्या अब समाधान भएको छ ।
पुर्कोटमा डिप बोरिङ खानेपानी आयोजनामार्फत खानेपानी सुविधा उपलब्ध गराइएको हो । बस्तीभन्दा तल रहेको चाम्लेस्वारा धारापानीमा जमिनमुनिको पानी उत्खनन गरेर माथि डाँडामा पुर्याइएको छ । स्थानीय दुई सय परिवारका लागि डिप बोरिङमार्फत उत्खनन गरिएको पानी तानेर ट्याङ्कीमा सङ्कलन गरी एक घर एक धारामार्फत वितरण गरिने भएको छ ।
रु चार करोडको लागतमा यो योजना सञ्चालन गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका इन्जिनियर प्रेमबहादुर थापाले बताए । केही महिनामै सबै घरमा धारा बनाएर पानी वितरण गरिने उनले जानकारी दिए । अहिलेसम्म पिठ्यूँमा गाग्री बोकेर गुजारा चलाउँदै आएकी स्थानीय बबिता दर्जीले गाउँमा धारामा पानी आउन थालेपछि सुखको सास फेरेको बताए ।
अब पानीको जोहो गर्नकै लागि रातैमा उठेर कुवा र इनारमा धाउनुपर्ने समस्या अन्त्य भएको उनको भनाइ छ । डाडाँमा बस्ती बसेको वषौँ वर्षपछि खानेपानी उपलब्ध भएको दर्जीले बताए । बोरिङमार्फत तानिएको पानी ट्याङ्कीमा सङ्कलन गरेर हरेक घरमा वितरण गरिने फलेवास नगरपालिका–३ शङ्करपोखरीका वडाअध्यक्ष अर्जुनबहादुर कार्कीले जानकारी दिए।
नजिकमा खोला वा मूल नहुँदा यो गाउँमा अहिलेसम्म खानेपानी योजना सञ्चालनसमेत हुन सकेको थिएन । त्यसैगरी, लामो समयदेखि काकाकुलको नियति भोगिरहेको जलजला गाउँपालिका–८ नाग्लीवाङस्थित लुप्राङमा पनि पहिलोपटक पाइपमार्फत खानेपानी पुर्याइएको छ ।
सिङ्गो बस्ती नै एउटा कुवामा निर्भर हुनुपर्दा भोग्नुपरेको सास्तीका कारण बसाइँसराइ बढिरहेको बेला लामो प्रयासपछि पानीको सुविधा पुगेको हो । जलजला–८ का वडाध्यक्ष हरि विकास जिसीले वर्षौंदेखिको समस्या समाधानका लागि लामो समयदेखि नै प्रयास गरे पनि बल्ल सफल भएको बताए ।
लुप्राङ गाउँबाट करिब चार किलोमिटर टाढा रहेको जलजला गाउँपालिका–९ बनौँको लस्ती खोलाबाट पाइप बिछ्याएर पानी ल्याइएको हो । पाइपमार्फत ल्याइएको पानी अब एक लाख लिटर क्षमताको ‘रिजर्भ ट्याङ्की’ मा खसालेर टोलटोलमा वितरण गर्ने योजना रहेको उहाँले बताए ।
रु एक करोडभन्दा बढीको लगानीमा उक्त योजना सम्पन्न हुन लागेको हो । “यहाँका बासिन्दा कुवाको भर पर्दै आएका थिए । गाउँको सबैभन्दा ठूलो समस्या नै पानी थियो,” वडाध्यक्ष जिसीले भने । केही वर्षअघिसम्म लुप्राङमा करिब एक सय ३० घर भए पनि तीमध्येका करिब ४० परिवार पानीकै अभावका कारण बसाइँ सरेका छन् ।
स्थानीय हरिनारायण रेग्मीले वर्षौंदेखि पानीको प्रतीक्षामा बसेका लुप्राङवासीको मागको सुनुवाइ भएको बताए । अब एक गाग्री पानीका लागि राति र दिउँसो कुवाको छेउमा लाइन लागेर बस्नुपर्ने बाध्यता अन्त्य हुने उनको भनाइ छ ।
लस्ती खोलाको पानी लुप्राङमा ल्याउन प्रयास गरिए पनि एउटा वडामा रहेको स्रोत अर्को वडामा लगेर प्रयोग गर्नेमा राजनीतिक दलका प्रतिनिधिबीच सहमति नहुँदा गाउँमा पानी पुर्याउन ढिलाइ भएको थियो । अहिले सो विषयमा स्थानीय राजनीतिक दलका प्रतिनिधिबीच सहमति भएपछि योजनाले पूर्णता पाएको हो ।
















हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
जेनजी सहिद परिवारका २७ जनालाई रोजगारीको व्यवस्था गरिएको छ
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
निर्वाचन आयोगले सार्वजनिक गर्याे उम्मेदवारको वैयक्तिक विवरण
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
प्रतिक्रिया