नेपाल कतार संयुक्त वाणिज्य परिषदको स्थापना

काठमाडौँ । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त वाणिज्य परिषद स्थापना भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले नेतृत्व गर्ने परिषद स्थापनाका लागि बुधबार दुवै चेम्बरबीच सम्झौता भएको हो ।
कतारका अमीर शेख तमीम विन हमाद अल थानी र नेपालका प्रधानमन्त्री पुष्प कमल दाहालको उपस्थितिमा महासंघ अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष शेख खलिफा बिन जसिम अल थानी ले उक्त सम्झौतामा हस्ताक्षर गरे । परिषदले व्यापार विस्तार, लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण, पर्यटन प्रवर्द्धनका क्षेत्रमा काम गर्नेछ ।
तिव्र आर्थिक वृद्धि भैरहेको खाडी मुलुक कतारसंग सम्वादका लागि परिषद स्थायी संयन्त्र बनेको छ । संयुक्त वाणिज्य परिषद्को उद्देश्य कतार र नेपालका निजी क्षेत्रबीच सहकार्य र समझदारी बढाउनु हो ।
नेपालीहरुको कामको गन्तव्यका रुपमा चिनिँदै आएको कतारको लगानी आकर्षित गर्न र व्यापार विस्तार गर्न परिषदले प्रभावकारी भूमिका खेल्नेछ । खाडि मुलुकमा कृषिजन्य उत्पादन, पानी, जडिवुटि, मसला र मसलाजन्य वस्तु लगायतको अत्यधिक माग छ । तिव्र आर्थिक विस्तारका कारण कतार लगानी गन्तव्यका रुपमा रहेको हुँदा नेपालमा लगानी आकर्षित गर्न परिषदले प्रभावकारी भूमिका निर्वाह गर्नेछ । यसैगरि पर्यटन प्रवर्द्धनका क्षेत्रमा पनि परिषदले काम गर्नेछ ।
परिषद स्थापनापछि दुइ चेम्बरबीचको सहकार्य थप प्रगाढ भएको र यसले लगानी र व्यापार विस्तारमा सहयोग पुग्ने दुवै अध्यक्षले धारणा राखेका छन् । ‘यस सम्झौताले अगामी दिनमा सहकार्यलाई थप बढाउनेछ,’ कतार चेम्बरका अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले भने ।
यसैगरि महासंघ अध्यक्ष ढकालले परिषदका मार्फत थप सहकार्यका लागि थप काम गरिने बताए । ‘कतारको तिव्र आर्थिक बिकासबाट फाइदा लिन परिषदले निरन्तर काम गर्नेछ, ’ महासंघका अध्यक्ष ढकालले भने । यसैगरि महासंघ अध्यक्ष ढकालले परिषदको स्थापना पछि नेपालको जल विद्युत, पर्यटन पूर्वाधार, सूचना प्रविधि र कृषि प्रशोधनका क्षेत्रमा लगानी बढाउन सहज हुनेछ बताए ।
यसैगरि महासंघ र कतार चेम्बरबीचको समझदारी पनि नविकरण भएको छ । नयाँ समझदारीपत्रमा महासंघ अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले हस्ताक्षर गरे ।
उक्त सम्झौता पनि कतारका अमीर शेख तमीम विन हमाद अल थानी र नेपालका प्रधानमन्त्री पुष्प कमल दाहालको उपस्थितिमा नै भएको हो । महासंघ र कतार चेम्बरबीच सन २००५ मा पहिलोपटक समझदारी भएको हो । त्यसयता दुइ चेम्बरले लगानी र व्यापार प्रवर्द्धनमा विविध सहकार्य गर्दै आइरहेका छन् ।
















यस्तो छ आजका लागि फलफूल तथा तरकारीको मूल्य
मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु
नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, कस्ताे रहला आजकाे माैसम ?
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया