मंगलबार, चैत १०, २०८२

गण्डकीका एक लाख १० हजार बालबालिकालाई आइपिभी खोप

मेरोन्यूज २०८१ जेठ १२ गते ८:००

काठमाडौँ । गण्डकी प्रदेशका ११ जिल्लाका एक लाख १० हजार तीन सय २७ बालबालिकालाई पोलियोविरुद्धको इनएक्टिभेटेड पोलियो भ्याक्सिन (आइपिभी) खोप दिइने भएको छ।

Advertisement
nepal life insurencenepal life insurence

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत अभियानका रुपमा यही जेठ १३ गतेदेखि २६ गतेसम्म गण्डकीमा खोप अभियान सञ्चालन गर्न लागिएको प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ।

खोप कार्यक्रमका लागि तीन हजार चार सय ५३ खोप केन्द्र तथा स्वास्थ्यकर्मी र छ हजार नौ सय छ स्वास्थ्य स्वयंसेवक परिचालित हुने सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव विनोदविन्दु शर्माले जानकारी दिए।

विसं २०७१ बाट सुरु भएको आइपिभी खोप विसं २०७३ को प्रारम्भदेखि विश्व बजारमा अभाव हुँदा दुई वर्षभन्दा बढी अवधिसम्म यो खोप लगाउनबाट छुटेका थिए। छुटेका बालबालिकालाई पालियो रोग लाग्ने जोखिम रहेकाले छुटेकालाई खोप दिने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको सचिव शर्माको भनाइ छ।

सचिव शर्माका अनुसार नियमित खोप तालिकाअनुसार आइपिभी खोप दिनुपर्ने उमेर र उक्त समयमा यो खोप लगाउन छुट भएका हालको उमेरलाई विश्लेषण गरी बालबालिकाको उमेर समूह निर्धारण गरिएको छ।

विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई मात्र यो खोप दिने गरी लक्ष्य निर्धारण गरिएको र सोही आधारमा खोप तथा खोप जन्य सामग्रीको आपूर्ति तथा व्यवस्थापन गरिएको बताइन्छ।

यस अभियानका लागि निर्धारण गरिएको उमेर समूहका अधिकांश बालबालिका विद्यालयमा अध्ययन गर्ने भएकाले खोप केन्द्र समेत विद्यालयलाई बनाइएको छ।

विद्यालय नजाने बालबालिका र विद्यालयमा खोप लगाउन छुट भएका बालबालिकाका लागि पायक पर्ने स्थानमा सञ्चालन हुने बाह्य खोप केन्द्र तथा अभियानको अन्तिम दिन स्वास्थ्य संस्थामा सञ्चालन हुने खोप केन्द्रमार्फत खोप लगाइने भएको छ।

खोप अभियानमा मुस्ताङमा चार सय ५०, म्याग्दीमा चार हजार तीन सय ५६, बागलुङमा ११ हजार सात सय ७१, पर्वतमा पाँच हजार सात सय र स्याङ्जामा १० हजार एक सय ५४ बालबालिकालाई आइपिभी खोप दिइने छ।

यसैगरी कास्कीमा २८ हजार तीन सय सात, मनाङमा एक सय ५३, लमजुङमा छ हजार छ सय ६५, गोरखामा आठ हजार पाँच सय ३९, तनहुँमा १४ हजार पाँच सय १२ र नवलपरासीमा १९ हजार सात सय २९ जना बालबालिकालाई खोप दिने लक्ष्य राखिएको छ।

पोलयो भाइरसद्वारा लाग्ने रोग हो। यो मुख्यरुपमा व्यक्ति–व्यक्तिबीचको सम्पर्कद्वारा फैलिन्छ। सङ्क्रमित व्यक्तिको दिसा–पिसाब समावेश खाना वा पेय पदार्थको सेवनबाट फैलिने यो रोगले मुख्य गरी पाँच वर्षमुनिका बालबालिकालाई असर गर्ने चिकित्सकको भनाइ छ।

प्रतिक्रिया