चुहिने छानामुनि पढ्न बाध्य छन् कुँडेढोरका विद्यार्थी

बागलुङ । उप्किएका भित्ता, जीर्ण झ्यालढोका, मक्किएका काठले छाएको छानो । घामपानी र हावाहुरी नछेक्ने टहरो । हेर्दै जीर्ण भवनमा ओत लागेर पढ्छन्, निसेलढोरका बालबालिका ।
निसीखोला गाउँपालिका–६ निसेलढोरस्थित कुँडेढोर प्राथमिक विद्यालयका विद्यार्थीहरू यस्तै जीर्ण भवनमा पढ्न बाध्य छन् । वि.सं २०६४ मा स्थापना भएको विद्यालयको हालसम्म भरपर्दो भवन बनेको छैन । ५२ जना विद्यार्थी अध्ययनरत विद्यालयमा शैक्षिक सामग्रीदेखि आधारभूत पूर्वाधारको अभाव छ ।
तीन वटा विद्यालय भवनमध्ये दुई वटा भवन कच्ची छन् । हावाहुरी र पानी पर्दा कक्षाकोठामा बस्नै मिल्दैन । यो विद्यालय जिल्लाको सबैभन्दा विकटमा पर्छ । बर्खा लागेपछि घुम्ती बसाइमार्फत २५ जना विद्यार्थी थपिन्छन् । पढाउनेक्रममै छानोको फलेक कुहिएर झर्ने गरेको र बर्खामा पानी चुहिने गरेको विद्यालयका निमित्त प्रधानाध्यापक रुद्र विकले जानकारी दिए ।
‘विकटमा राज्यको नजर कम पर्दोरहेछ, बालविकास र कक्षा ४ सम्मका विद्यार्थीलाई कक्षाकोठा ठिकै छ तर, कक्षा ५ का विद्यार्थीलाई कक्षाकोठाको अभाव छ’, विकले भने, ‘गाउँपालिकामा भवन निर्माणका लागि बजेट माग गरिरहेका छौँ, यस पटक बजेट प्राप्त होला ।’
कक्षाकोठा उपयुक्त नहुँदा पठनपाठनमा असहज हुने गरेको कक्षा ५ मा अध्ययनरत छात्रा सृष्टी मगरले बताइन् । ‘कक्षामा पानी पर्दा चुहिन्छ, हिउँ पर्दा पग्लेर कक्षा कोठा भरिन्छ’, मगरले भनिन् । पाँच कक्षासम्म मात्रै पढाइ हुने यहाँका बालबालिका कक्षा छ देखि माथि पढ्न गाउँभन्दा बाहिर जानुपर्ने बाध्यता छ । निसेलढोरमा अस्थायी र स्थायी गरी दुई थरी बस्ती छन् । निसीखोला गाउँपालिकाको विभिन्न स्थानबाट धेरैजसो गर्मीको समयमा यहाँ खेतीपातीका आउँछन् र हिउँदमा बेंसी झर्छन् । ५० घरधुरी भने स्थायीरुपमा निसेलढोरमै बस्छन् ।
निसीखोला–५ निसीको ज्ञानेन्द्र माध्यामिक विद्यालयलाई २०६४ सालअघिसम्म घुम्ती विद्यालयका रूपमा निसेलढोरमा सञ्चालन गरिएको थियो । वि.सं २०६४ सालमा सोही विद्यालयको पूर्वाधारमा कुँडेढोर प्राथमिक विद्यालय स्थापना गरिएको हो । निसीखोला–५ निसीबाट सोही वडाको निसेलढोर आउन पाँच घण्टा पैदल हिँड्नुपर्छ ।








कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती
तोकिएकै मितिमा निर्वाचन गर्न सरकार दृढ : गृहमन्त्री
UML 11th National Congress: Candidacy filing taking place today
सिकारीको बन्दुक पड्किँदा…
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया