सोमबार, चैत ९, २०८२

गर्मीमा रक्तदान गर्दा कुनै असर गर्दैन : चिकित्सक

मेरोन्यूज २०८१ जेठ ३१ गते २१:२८

चितवन । जिल्लामा केही समययता रगतको अभाव देखिएको छ । भरतपुर अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा प्रमोद पौडेलका अनुसार गर्मी बढेसँगै अस्पतालमा बिरामीको सङ्ख्या वृद्धि भएकै बेला रगतको अभाव देखिएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

डा पौडेलले हाल अस्पतालमा उपचार गर्न आएका रगत चढाउन अत्यावश्यक बिरामीका लागि रगत अभाव देखिएको जानकारी दिए । उनले नियमित रक्तदाताको कमी हुँदा रगत अभाव भएको बताए । उनले भने, “रक्तदाताले गर्मीको बेलामा रक्तदान गर्दा कतै स्वास्थ्यमा अफ्ठ्यारो पर्ने होकी भन्ने सोचाइले रक्तदान गर्न डराएको भन्ने भान परेको छ । रगत सङ्कलन नहुँदा अभाव भएको हामीले बुझेका छौँ ।”

रक्तदानअति महत्वपूर्ण भएको भन्दै उनले रगत दिन मिल्ने सबै उमेर समूहकालाई रक्तदान गर्न आग्रह गरे। कुनै रोग विशेषका कारणबाहेक अन्य परिस्थितिमा १८ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिले रक्तदान गर्न मिल्ने डा पौडेलले बताए । उनले थपे, “जटिल प्रकारका रोगबाहेक महिला पुरुष दुवैले रक्तदान गर्न मिल्छ । महिलामा विशेष परिस्थिति हुन्छ, जस्तै महिनावारी, गर्भवती, सुत्केरी एवं स्तनपान गराउनेबाहेक अन्यले रक्तदान गर्न मिल्छ । बच्चा जन्मेको नौ महिनापछि रक्तदान गर्न मिल्छ । कुनै दीर्घरोग वा अन्य विशेष परिस्थितिमा रक्तदान गर्न मिल्दैन त्यो फरक पाटो हो ।”

नियमित रक्तदान गर्ने रक्तदाता यो समयमा गर्मीको कारण रक्तदान गर्न मिल्छकी मिल्दैन भन्ने अवस्थामा रहेको भन्दै डा पौडेलले भने, “गर्मी या जाडो भयो भनेर रक्तदान गर्न नमिल्ने भन्ने हुँदैन ।”

एक स्वस्थ व्यक्तिले जस्तोसुकै मौसममा पनि रक्तदान गर्न मिल्ने र गर्मीमा रक्तदान गर्दा स्वास्थ्यमा कुनै खराबी नहुने उनको भनाइ छ । उनले गर्मीको समयमा बढी पसिना आउने कमजोरी भएको महसुस गर्ने, रिंगटा वा चक्कर आउने जस्ता समस्या हुने भन्दै प्रशस्त मात्रामा पानी, फलफूल तथा झोलिलो पदार्थ सेवन गर्न आग्रह गरे ।

प्रतिक्रिया