शुक्रबार, फागुन १, २०८२

म्याग्दीको बेनीमा मौसम मापन केन्द्र स्थापना

मेरोन्यूज २०८१ असार १० गते १३:२०

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा मौसम मापन केन्द्र स्थापना भएको छ । बेनी नगरपालिकासँगको समन्वयमा जल तथा मौसम विज्ञान कार्यालय पोखराले जलवायु परिवर्तन र मौसमका सूचना समयमा सहजै प्राप्त गर्न सकिने केन्द्र स्थापना गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

केन्द्रमा जडान गरिएको स्वचालित उपकरणबाट बेनी आसपासका तापक्रम, वर्षा, हावाको गतिसम्बन्धी सूचना तत्कालै उपलब्ध हुनुका साथै तथ्याङ्क भण्डारण गरिने जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्रमुख सुजन सुवेदीले जानकारी दिए ।

“केन्द्रमा जडान गरिएको स्वचालित उपकरणबाट प्राप्त हुने मौसमसम्बन्धी जानकारी केन्द्रीय सर्भरमा निरन्तर अपडेट र भण्डारण हुन्छ,” उनले भने “सर्भरसँग कनेक्सन गरिएको वेबसाइटमार्फत विवरण सार्वजनिक हुने व्यवस्था मिलाइएको छ ।”

विपद् व्यवस्थापनको पूर्वतयारी र क्षति न्यूनीकरणका साथै भण्डारण भएको तथ्याङ्क र अभिलेख अध्ययन–अनुसन्धानका लागि उपयोगी हुने कार्यालय प्रमुख सुवेदीले जानकारी दिए । बेनीमा रहेको मौसम मापन केन्द्र विसं २०६० चैत ७ गते बेनी भिडन्तका क्रममा क्षति पुगेपछि बन्द भएको थियो । बेनी नगरपालिकाले मौसम मापन केन्द्र स्थापना गर्न कार्यालय परिसरमा जग्गा उपलब्ध गराएको छ ।

जिल्ला सदरमुकाममा मौसमसम्बन्धी जानकारीको अभाव भएको गुनासो बढेपछि मौसम मापन केन्द्र पुनःस्थापनाका लागि पहल गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए । तापक्रम, वायु र वर्षाबारे जानकारी लिने संयन्त्र जडान भएपछि विपद्को क्षति न्यूनीकरण र व्यवस्थापनका लागि पूर्वतयारी गर्न सहज हुने उनको भनाइ छ ।

बेनीसहित गण्डकी प्रदेशमा २६ वटा मौसम मापन केन्द्र रहेको जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्राविधिक प्रकाश गुरुङले जानकार दिए । २६ मध्ये १२ वटा मौसम मापन केन्द्रमा स्वचालित उपकरण जडान भएका छन् ।

प्रतिक्रिया