शुक्रबार, चैत २७, २०८२

मधेस प्रदेशमा बालश्रमिकको सङ्ख्या एक लाख ७२ हजार

मेरोन्यूज २०८१ असार २० गते २१:२४

जनकपुर । मधेस प्रदेशका अधिकांश जिल्लामा विद्यालय पहुँचभन्दा बाहिर रहेका पाँच देखि १७ वर्ष उमेर समूहका बालश्रमिकको सङ्ख्या एक लाख ७२ हजार रहेको पाइएको छ।

Advertisement
nepal life insurencenepal life insurence

जनकपुरधाममा आसमान नेपाल नामक संस्थाले पत्रकार अन्तरक्रिया आयोजना गरी बाल श्रमिकको तथ्याङ्क सार्वजनिक गरेको हो। आसमान नेपालका कार्यक्रम व्यवस्थापक मनिराम आचार्यले मधेस प्रदेशमा विद्यालय बाहिर भएका २१ प्रतिशत बालबालिकालाई विद्यालय पठाउन सकेमा बाल श्रमिकको सङ्ख्या कम गर्न सकिने बताए।

प्रदेशका बालश्रमिकहरू मध्ये शहरी क्षेत्रमा मात्र १२ दशमलव चार प्रतिशत रहेका छन्। ग्रामीण क्षेत्रमा बाल श्रमिकको सङ्ख्या नौ दशमलव आठ प्रतिशत रहेको आसमानका परियोजना संयोजक दिपेन्द्र तिवारीले जानकारी दिए। गरिबी तथा अशिक्षाका कारण बालश्रमिक मध्ये तीन दशमलव चार प्रतिशत अर्थात् ५० हजार नौ सय ३२ जना बालश्रमिक जोखिमपूर्ण काममा संलग्न रहेको उनले बताए।

मधेश प्रदेशमा विद्यालय जाने उमेर समूहका बालबालिकाको सङ्ख्या १४ लाख ९८ हजार छन्। बालश्रममा लागेकालाई विद्यालय पठाउन चुनौतीपूर्ण रहेको आसमानका सुशासन सल्लाहकार गुरु सुवेदीले जानकारी दिए।

उनले बालश्रम कम गर्न बालमैत्री स्थानीय शासन आवश्यक भएकाले योजनासहित बालबालिकाको क्षेत्रमा लगानी गर्न जरुरी रहेको बताए। आसमानका मधेस प्रदेश संयोजक खिलानाथ निरौलाले जोखिमपूर्ण श्रमसहित अन्य श्रममा लागेका बालबालिकालाई विद्यालय पठाउन जरुरी रहेको बताए।

प्रतिक्रिया