बिहीबार, फागुन २८, २०८२

सर्वसाधारणका लागि काष्ठमण्डप अझै खुलेन

मेरोन्यूज २०८१ असार २२ गते ९:१२

काठमाडौँ । पुनःनिर्माण सम्पन्न भइसक्दा पनि ऐतिहासिक सम्पदा ‘काष्ठमण्डप’ अवलोकन गर्न सर्वसाधारणका लागि अझै खुल्न सकेको छैन ।

Advertisement
nepal life insurencenepal life insurence

विसं २०७२ वैशाख १२ को भूकम्पले पूर्णरुपमा क्षति भएको उक्त सम्पदाको पुनःनिर्माण सम्पन्न गरी काष्ठमाण्डप पुनःनिर्माण समितिले गत असोज १५ गते नै काठमाडौँ महानगरपालिकालाई कार्यसम्पन्न प्रतिवेदन बुझाइसकेको छ ।

महानगरको सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईका अनुसार पुनःनिर्माण समितिले बुझाएको प्रतिवेदन अहिले सम्पदा विज्ञसहितको टोलीले अध्ययन गर्ने काम भइरहेको छ । प्रतिवेदन अध्ययनको काम पूरा भएसँगै उक्त एतिहासिक सम्पदा सर्वसाधारणको लागि कहिले खुला हुन्छ भन्नेबारे यकिन हुन्छ ।

प्रमुख राईका अनुसार निर्माण समितिले बुझाएको प्रतिवेदनलाई प्राविधिक, आर्थिक र कानुनी तीन पक्षबाट अध्ययनको काम भइरहेको छ । विसं २०७५ वैशाख १८ गते जनप्रतिनिधि र स्थानीयको निर्णयबाट तत्कालीन प्रदेशसभा सदस्य राजेश शाक्यको अध्यक्षतामा काष्ठमण्डप पुनःनिर्माण समिति गठन भएको थियो ।

उक्त सम्पदा पुनःनिर्माणका लागि २०७५ जेठ २४ गते बसेको कार्यपालिका बैठकले उपभोक्ता समितिमार्फत पुनःनिर्माणको काम गर्ने र खर्च काठमाडौँ महानगरपालिकाले व्यहोर्ने निर्णयअनुसार २०७५ जेठ २९ मा कामपा र समितिबीच पुनःनिर्माणका लागि सम्झौता भएको थियो ।

सम्झौता भएकै दिन काम सुरु गर्नका लागि कामपाले समितिलाई रु ५० लाख प्रदान गरिएको थियो । त्यसपछि महानगरले समितिलाई २०७५ असोज २७ गते रु पाँच करोड, २०७६ माघ ९ गते रु पाँच करोड र २०७८ असार १६ गते रु एक करोड उपलब्ध गरायो । क्षति भएको उक्त ऐतिहासिक सम्पदा पुनःनिर्माणका लागि महानगरले उपलब्ध गराइएको रु ११ करोड ५० लाख खर्च भइसकेको प्रतिवेदनमा उल्लेख छ ।

काष्ठमण्डपलाई खुला गरी नियमित सञ्चालन र संरक्षण गर्न, काष्ठमण्डपलाई भौतिकरुपमा जिम्मेवारी स्वीकार गर्न पुनःनिर्माण समितिले कामपालाई आग्रह पनि गरेको छ । पुनःनिर्माणका क्रममा भएको सम्पूर्ण विवरणसहित निर्माणको समयमा विभिन्न क्षेत्रबाट गरिएको अवलोकन भ्रमण, प्राविधिक प्रतिवेदन महानगरलाई बुझाइएको प्रतिवेदनमा उल्लेख छ ।

काष्ठमण्डपलाई भत्किनु अगाडिको स्वरुपमा निर्माण गरी २०७८ चैत २१ गते उक्त सम्पदाको लोकापर्णसमेत भइसकेको छ ।

प्रतिक्रिया