शनिबार, चैत २१, २०८२

११ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएन

मेरोन्यूज २०८१ साउन १ गते २०:२१

बागलुङ । ११ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै सञ्चालनमा आउन सकेको छैन । गत असार २१ गतेको भारी वर्षाका कारण सडक माथिदेखि खसेको पहिरोले सडक अवरुद्ध भएको थियो ।

Advertisement
nepal life insurencenepal life insurence

करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको बिच भागबाटै भासिएपछि बागलुङ सदरमुकामसँग यातायात सम्पर्क विच्छेद भएको छ ।

सडक मर्मतका लागि मेसिन र कामदार खटाए पनि वर्षाका कारण सडक माथिदेखि निरन्तर पहिरो खस्दा सञ्चालन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

पहिरोले बगाएको सडकमा ग्याविनसहितको पर्खाल उठाउनुपर्ने भएकोले सञ्चालन गर्न समय लाग्ने उनले बताए । करिडोरबाहेक जिल्लाका अन्य सडक सञ्चालनमा रहेको यादवले बताए ।

उनले भने, “सामान्य वर्षा हुँदा पनि माथिदेखि पहिरो खसिहाल्छ, एक साता अगाडि सञ्चालन ल्याउन कोसिस गरेको हो, केहीबेर गाडी चले पनि फेरि वर्षा भएपछि सडक बिच बाटै बगेको छ, सवारी आवतजावत गर्न समस्या छ ।”

सडक सञ्चालनमा नआउँदा दक्षिण बागलुङसहित करिडोर हुँदै यात्रा गर्ने यात्रुले सास्ती खेप्नुपरेको छ । दक्षिण बागलुङका नागरिक पर्वतको कुश्मा हुँदै यात्रा गर्न बाध्य छन् ।

प्रतिक्रिया