आइतबार, चैत २२, २०८२

सूचना प्रविधि क्षेत्रमा ठूलो सम्भावना छ : वर्षमान पुन

मेरोन्यूज २०८१ साउन ३ गते २०:५१

काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले नेपालमा सूचना प्रविधि क्षेत्रमा ठूलो सम्भावना रहेको बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले बिहीबार भक्तपुरको ठिमीमा गरेको कार्यक्रममा उनले नेपालको भूपरिस्थितिका कारण अरु क्षेत्रमा भन्दा सूचना प्रविधि क्षेत्रमा विश्व बजारमा प्रतिस्पर्धी बन्न सक्ने बताए । 

Advertisement
nepal life insurencenepal life insurence

देश विकासको नीति बनाउँदा भूपरिस्थितिलाई ध्यान दिनुपर्नेमा जोड दिँदै उनले गत आर्थिक वर्षमा नेपालबाट रु एक खर्ब बराबरको आइटी सेवा निर्यात भएको तथा नेपाली श्रम बजारमा हरेक वर्ष १० हजार सूचना प्रविधि विषय अध्ययन गरेका विद्यार्थी थपिने अवस्था रहेको जानकारी दिए ।

हामी करिब डेढ अर्बको विशाल जनसङ्ख्या र विशाल भूगोल भएका चीन र भारतको बीचमा छौँ । यस्तोमा हामीले प्रतिस्पर्धा गर्न सक्ने क्षेत्र भनेको आइटीमा हो’, उनले भने, ‘आइटी क्षेत्रको सेवा विश्व बजारमा पठाउन हामीलाई न भारत न चीनको आकाश प्रयोग गर्नुपर्छ । न समुद्र प्रयोग गर्नुपर्छ ।’

प्रतिस्पर्धी बन्न सक्ने देखेरै आफूले नयाँ आर्थिक वर्षको बजेटमा आफूले सूचना प्रविधि क्षेत्रलाई प्रवर्द्धन गर्ने कार्यक्रम ल्याएको उल्लेख गर्दै पूर्वअर्थमन्त्री समेत रहेका नेता पुनले सूचना प्रविधिपछि कृषि, पर्यटन, जलविद्युत् र सिमेन्ट उद्योगले क्षेत्रीय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बताए ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले १५ वर्षअघि जलविद्युत् क्षेत्रको लगानीको स्रोत नखोज्ने र १५ वर्षसम्म लगातार आयकर नलिने नीतिगत व्यवस्था गरेका कारण आज मुलुक लोडसेडिङ मुक्त भएको तथा भारत र बङ्गलादेशको क्षेत्रीय बजारमा उपस्थिति जनाउन सक्ने अवस्था आएको पूर्वअर्थमन्त्री पुनको भनाइ छ । उनले निजी क्षेत्रलाई राज्यले अर्थतन्त्रको ड्राइभिङ सिटमा राख्नेपर्ने बताए ।

‘सरकारमा रहँदा वा नरहँदा मेरो धारणा के हो भने ‘प्राइभेट सेक्टर’ लाई ड्राइभिङ सिटमा राखेर हामीले देशको अर्थतन्त्रलाई अगाडि बढाउनुपर्ने भन्ने धारणा रहँदै आएको छ । यसको विकल्प छैन,’ पूर्वअर्थमन्त्री पुनले भने, ‘जति प्रतिस्पर्धी अर्थतन्त्र बनाउँछौँ । प्राभइेट सेक्टर अगाडि बढ्छ र त्यसले ड्राइभ गर्छ, राज्यले सहजीकरण गर्छ । योबाहेक कुनै पनि राजनीतिक दलले सोच्न हुन्छ जस्तो मलाई लाग्दैन ।’

प्रतिक्रिया