सहकारीको रकम अपचलन गरेर विदेश भागेका १८ जनालाई स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन

काठमाडौं । सहकारी छानबिन संसदीय समितिले सहकारीको रकम अपचलन गरी देश बाहिर भागेकाहरुलाई तत्काल स्वदेश फर्काउन सरकारलाई निर्देशन दिएको छ ।
समितिको सोमबार बसेको बैठकले सहारा, सूर्यदर्शन लगायतका सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेका १८ जनालाई तत्काल स्वदेश फर्काउन निर्देशन दिएको हो ।
सानुपाइला, सहारा, सूर्यदर्शन, स्वर्णलक्ष्मी, हाम्रो नयाँ कृषि, सुप्रिम र समानता सहकारीको बचत दुरुपयोग सम्बन्धमा छानबिनको दायरामा रहेका जीबी राई, सुमेरु र कालीमाटी सहकारीका भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन र सरला महर्जन, सूर्यदर्शनका अध्यक्ष भइसकेका ज्ञानबहादुर बम्जन, थानबहादुर बुढा मगर, शिवशिखर सहकारीका भूपेन्द्र राई, तेजबहादुर बम्जन तामाङ र लीलानाथ गौतम, इमेज सहकारीका देवकुमार नेपाली, छेदा नेपाली र दीपक पौडेल, साना पाइलाका तस्विरण खातुन र असरफ अली, सहारा बचत तथा ऋण सहकारी र सुप्रिम सुवास केसी, कान्ति सहकारीका प्रेमध्वज लामा, मेगा ड्रिम सहकारीका महाशंकर रेग्मीलाई नेपाल फर्काउन गृहमन्त्रीलाई आग्रह गरिएको हाे ।
छानबिन समितिका संयोजक सूर्यबहादुर थापा क्षेत्रीले सहकारीसम्बन्धी मुद्दामा जेल चलान भएकाहरुको बयान लिन सहजीकरण गरिदिन गृहमन्त्री लेखक समक्ष आग्रह गरे।
सहकारीको बचत रकम हिनामिना गरी फरार भएकालाई पक्राउ गर्न आवश्यक प्रक्रिया थालिएको गृहमन्त्री लेखकले जवाफ दिए। सहकारी बचत रकम हिनामिनाको आरोपमा पक्राउ गरेर जेलमा राखिएकाको बयानका लागि गृह प्रशासनले सहजीकरण गर्ने उनले बताए।
बैठकमा गृहसचिव एकनारायण अर्याल र नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर पनि सहभागी थिए ।
प्रतिक्रिया