माग बढेपछि किसान कोदो खेतीतर्फ आकर्षित

गलेश्वर (म्याग्दी) । वर्षौदेखि बाँझो रहेको नौ रोपनी बारीमा प्राङ्गारिक मल हाली हाते ट्याक्टरले जोतेर खन्न सजिलो भएपछि पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ दिच्यामका मनबहादुर बूढाले चार दिन लगाएर बारीमा कोदो रोपे । यस्तै मङ्गगला गाउँपालिका– ५ की विमला रोकाले विगत वर्षमा खेती गर्ने जागर नहुँदा भएको बारी पनि बाँझै छोड्ने गर्थे । तर,यस वर्ष रु चार हजार खर्च गरेर खनजोत गरेपछि पाँच रोपनी बारीमा खेताला लगाएर कोदो रोपेको बताए ।
पछिल्लो समय माग ग्रामीण तथा सहरी क्षेत्रमा बढ्दै जान थालेपछि पश्चिम म्याग्दीका किसान कोदो खेतीप्रति आकर्षित भएका छन् । गाउँमा आयातित मदिरा भन्दा कोदोको मदिरा बढी रुचाइन थालेपछि उत्पादिन कोदो रु दुई सय ५० प्रतिपाथी गाउँमा नै खपत हुन थालेको छ । त्यसैगरी सहरमा कोदोको परिकारप्रति आन्तरिक तथा बाह््य पर्यटकको आकर्षण बढ्न थालेपछि यहाँका किसान कोदो खेतीतर्फ आकर्षित भएका मालिका गाउँपालिका–६ का वडाअध्यक्ष पथबहादुर रोकाले बताए ।
पश्चिम म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकाका साथै उत्तरी म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा यसवर्ष कोदो खेती विस्तार गरिएको छ । “मकै र गहुँको भन्दा कोदोको खोजी बढी हुन थालेको छ”, मालिका गाउँपालिका–६ का वडासदस्य छरदेवी घर्तीले भने “अरु अन्न बिक्री गर्न कठिन हुन्छ । तर कोदो खोज्न ग्राहक घरघरमा नै आइपुग्छन् ।”
केही वर्षअघिसम्म घर अगाडिको भिरालो बारीमा वनमारा र सिरु फैलिएको पश्चिम म्याग्दीका निस्कोट, रुम, देवीस्थान, ओखरबोट, डाँडागाउँलगायतका धेरै गाउँमा गत वर्षदेखि कोदोखेती विस्तार गरिएको छ । पश्चिम म्याग्दीका बासिन्दाले अरु खेतीलाई भन्दा कोदो खेतीलाई महत्व दिँदै आएका छन् । पछिल्लो समय गाउँबाट सहर गएका नागरिक बर्खामा गाउँ फर्केर आफ्नो बारीमा कोदो रोप्ने गरेका छन् ।
“सहरमा कोदोको माग बढी छ, गाउँमा आफ्नो बारी बाँझै रहन्थ्यो, यस वर्ष कोदो रोप्ने समयमा बजारबाट गाउँ फर्किएर खेताला (कृषि मजदुर) खोजी चार दिन लगाइ कोदो रोपेँ”, मङ्गला गाउँपालिका–२ का याममती रोकाले भने । पछिल्लो समय गाउँ घरमा पनि जाडोको समयमा कोदोको ढिँडो र रोटी खाने बानीको विकास हुँदै गएको छ ।
“बजारबाट ल्याएका चाउचाउ, बिस्कुट, चिउरा, भुजा, नमकिन लगायतका वस्तुलाई खाजाको रुपमा प्रयोग गर्ने क्रम घट्दै गएको छ, गाउँलेले पाएसम्म गाउँकै उत्पादनलाई खाजा र खानाको रुपमा प्रयोग गर्न थालेका छन् । सबैको रोजाइमा कोदो पर्दैगएको छ”, दरबाङको केवी एकेडेमीका शिक्षक मीन सुनारले भने । उनका अनुसार उत्पादित कोदो बिक्री गर्नुका साथै घरेलु मदिरा उत्पादन गर्ने, ढिँडो र रोटी बनाएर खाने गरिन्छ ।
विगतका वर्षमा गाउँघरमा कोदोको उत्पादन कम हुँदै जाँदा सहरका होटलले भने कोदोको परिकारलाई नै आकर्षणका रूपमा राख्ने चलन भने बढ्दै गएको थियो । कोदोको भनेजति मूल्य पर्न थालेपछि गाउँका किसान कोदो खेतीतर्फ आकर्षित भएका र यस वर्ष गाउँभरी नै कोदो खेती गरिएको छ । म्याग्दीको सदरमुकाम बेनी, गलेश्वर, दरबाङ, सिंगा तातोपानी, भुरुङ तातोपानी लगायतका बजार क्षेत्रका होटलमा आउने पाहुनाले बजारमा बेच्न राखिएको चामलभन्दा गाउँमा उत्पादित कोदोको परिकार खोज्ने र मूल्य पनि बढी तिर्ने गरेका होटल व्यवसायीले बताएका छन् । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीको कूल ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकामा त्यसमध्ये जम्मा १९ हजार चार सय ९८ हेक्टरमा मात्रै खेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले जानकारी दिए ।

















प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास
दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
‘करेन्ट’ लागेर मजदुरको निधन
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
प्रतिक्रिया