आइतबार, मंसिर २८, २०८२

‘टाटा.ईभी प्रस्तुत नाडा अटो शो २०२४’ अगस्ट २७ देखि

मेरोन्यूज २०८१ साउन ३० गते २१:५०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हरेक वर्ष आयोजना हुने नाडा अटो शो यस वर्ष यही अगस्ट २७ देखि १ सेप्टेम्बरसम्म काठमाडौंको भृकुटी मण्डपमा आयोजना हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले बुधबार एक कार्यक्रमको आयोजना गरी उक्त जानकारी दिएको छ ।

दुई दशकभन्दा बढीको आफ्नो निरन्तरतालाई कायम राख्दै आयोजना गर्न लागेको ‘नाडा अटो शो २०२४’ पहिलेभन्दा अझ भव्य र प्रभावशाली हुने अपेक्षा गरिएको छ । नेपालका अटोमोबाइल उद्योगलाई प्रोत्साहित गर्न आयोजना गरिने उक्त प्रदर्शनीको नाम यस वर्ष ‘टाटा.ईभी प्रस्तुत नाडा अटो शो २०२४’ राखिएको आयोजकले बताएका छन् ।

आयोजकका अनुसार, यसपटकको नाडा अटो शोको मुख्य प्रायोजकमा टाटा.ईभी, सर्भाे लुब्रिकेन्ट्स र शिखर इन्स्योरेन्स कम्पनी सह–प्रायोजकको रूपमा रहेका छन् । 

यस वर्षको प्रदर्शनीमा २४ चार–पाङ्ग्रे ब्रान्ड, १९ दुई–पाङ्ग्रे ब्रान्ड र १२ हल्का व्यावसायिक सवारीसाधनका ब्रान्डहरू प्रदर्शनीमा राखिनेछन् । साथै, ३३ कम्पनी लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूको स्टल रहेछन् भने सातवटा स्टल वित्तीय संस्थाहरूको रहनेछन् । अटो शोमा ९५ प्रदर्शकहरूका करिब १ सय ३० स्टलमा विभिन्न ब्रान्डका उत्पादन र सेवाहरू प्रदर्शनीमा राखिनेछ ।

नाडा अटो शो २०२४ मा हिरो जुम स्कुटरले बहुप्रतीक्षित डोर प्राइज प्रदान गर्नेछ भने खल्ती टिकेटिङ पार्टनरको रूपमा रहनेछ । त्यस्तै, वर्ल्डलिंक आधिकारिक इन्टरनेट पार्टनर हुनेछ भने फायर सेफ्टीमा हिटको प्रालि रहनेछ । सीसीटीभी नेपालले सम्पूर्ण आगन्तुकहरूको सुरक्षाका लागि निगरानी गर्नेछ । प्रदर्शनीको व्यवस्थापनको जिम्मा ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेस प्रा.लि. (जेम्स)ले पाएको छ ।

चाडपर्व नजिकिँदै गर्दा नाडा अटो शो २०२४ ले अटोमोबाइलप्रेमीहरूका लागि नयाँ मोडेलहरू, प्रविधिहरू र प्रवृत्तिहरू अन्वेषण गर्ने अनुपम अवसर प्रदान गर्ने विश्वास आयोजकको छ । आगन्तुकहरूले नयाँ ब्रान्ड र नवीन प्रविधिहरूसहितका सवारीसाधन खरिदका लागि निर्णय लिन आवश्यक जानकारी प्रदान गर्ने आइवजकले बताएका छन् । 

आगन्तुकहरूको सुविधाका लागि टिकटहरू अब खल्तीएपमार्फत अग्रिम रूपमा खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । अग्रिम टिकट खरिदकर्ताहरूले २६ अगस्टसम्मको टिकट खरिदमा २० प्रतिशत क्यासब्याक लाभ उठाउन सक्नेछन् ।

त्यस्तै, मिडिया कभरेजलाई सहज बनाउन, प्रदर्शनीस्थलमा समर्पित मिडिया डेस्क उपलब्ध हुनेछ, जसले प्रदर्शनी सम्बन्धी सबै समाचारहरूलाई प्रभावकारी रूपमा संकलन र प्रसारण गर्नेछ । हाम्रो सडक सुरक्षा र ट्राफिक नियमहरूको प्रतिबद्धतालाई ध्यानमा राख्दै, प्रदर्शनीमा मेट्रोपोलिटन ट्राफिक प्रहरी डिभिजनको सहकार्यमा ट्राफिक सूचना डेस्क पनि हुनेछ ।

यसपटकको नाडा अटो शोमा ७५ हजारभन्दा बढीले अवलोकन गर्ने दाबी आयोजकको छ ।यसपटक अतिरिक्त आकर्षणको रूपमा एक भाग्यशाली सहभागीले हिरो जुम स्कुटर जित्ने अवसर पाउनेछन्, जसलाई सिजी मोटर्स प्रालिद्वारा प्रायोजन गरिएको छ ।

प्रतिक्रिया