यथाशीघ्र उद्धार कार्य सम्पन्न गर्न सरकारसँग काँग्रेसको माग

काठमाडौँ । नेपाली काँग्रेसले बाढीपहिरोका कारण बीच बाटोमा अलपत्र परेका यात्रुको यथाशीघ्र उद्धार गर्न आग्रह गरेको छ ।काँग्रेस संसदीय दलको आज बसेको बैठकले आफ्नो सम्पूर्ण संयन्त्र परिचालन गरी उद्धार कार्य यथाशीघ्र सम्पन्न गर्न सरकारसँग माग गरेको प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए।
उनले कैयौँ नागरिक अझै पनि देशका विभिन्न भागमा उद्धारको प्रतीक्षामा रहेका र गन्तव्यका लागि हिँडेका यात्रु बीच बाटोमा अलपत्र परेका समाचार आइरहेकाले उद्धार कार्य यथाशीघ्र सम्पन्न गर्न माग गरिएको बताए। बैठकका निर्णयबारे प्रमुख सचेतक घिमिरेले भने “प्राकृतिक प्रकोपले कैयौँ ठूलासाना सडक अवरुद्ध भएका छन्, कैयौँ पुल भत्किएका छन् । यसले आवागमनमा असर परेको छ । चाडपर्वमा घर जान चाहने नागरिकको चाप बढ्दै छ । त्यसैले अवरुद्ध सडकको मर्मतसम्भार कार्य तीव्र गतिमा अघि बढाउनुका साथै अस्थायी रूपमा वैकल्पिक मार्गको व्यवस्था गरेर भए पनि दसैँमा घर जानसक्ने अवस्था निर्माण गर्नका लागि बैठक सरकारसँग अनुरोध गर्दछ ।”
साथै बैठकले खानेपानी, स्वास्थ्य संस्था, विद्यालय एवं प्रहरी चौकीजस्ता क्षतिग्रस्त अत्यावश्यक संरचना तत्काल पुनः निर्माणका लागि सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ । काँग्रेसले सडकमार्ग खराब अवस्थामा रहेका कारण हवाईमार्गमा पर्न जाने चापलाई मध्यनजर गरी न्यूनतम हवाई भाडादर कायम राख्न र आवश्यक सहुलियत प्रदान गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ । “साथै बैठकले सडक यातायातको भाडादर पनि वृद्धि नगर्न र चाडपर्वका समयमा बजारमा हुने अस्वाभाविक मूल्यवृद्धिप्रति सरकारलाई सचेत गराउँदै आपूर्ति व्यवस्थालाई सुव्यवस्थित गर्न सरकारसँग माग गरेको छ”, प्रमुख सचेतक घिमिरेले भने “काँग्रेस संसदीय दल कार्यसमितिको यही असोज १३ गते बसेको बैठकले गरेको राहत व्यवस्थापन गर्न काँग्रेस संघीय संसद्का सबै सांसदहरूको १५ दिनको पारिश्रमिक कट्टागरी सरकारलाई प्रदान गर्ने निर्णय पनि आज अनुमोदन गरेको छ ।”
बैठकले बाढीपहिरोका कारण भएको अन्नबालीको क्षतिअनुसार राहत उपलब्ध गराउन एवं कटान भएका स्थानमा नदी नियन्त्रण कार्यलाई प्राथमिकतामा राख्न सरकारसँग माग गर्ने निर्णय गरेको छ । यस्तै, इजरायल-लेबनानबीच सुरु भएको युद्धबाट लेबनानमा रहेका नेपाली पनि जोखिममा रहेका हुँदा उनीहरूको सुरक्षा र इच्छुकहरूलाई सकुशल स्वदेश फिर्ताको व्यवस्था मिलाउन सरकारसँग माग गर्ने निर्णय गरिएको छ ।
पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले यही असोज १२ र १३ गतेको अविरल वर्षाका कारण गएको बाढी र पहिरोमा परी निधन भएकाप्रति दुःख व्यक्त गरेको छ । साथै बैठकले शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता रहेका नागरिकहरूको खोजीमा तीव्र ढंगले हरसम्भव प्रयास गर्न सरकारसँग माग गरेको छ ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया