बिहीबार, चैत ५, २०८२

जुम्लाबाट ५ हजार ८ सय मेट्रिकटन स्याउ बाहिरी जिल्ला पठाइयो

मेरोन्यूज २०८१ असोज १६ गते १६:४२

जुम्ला । जुम्लाबाट चालु आर्थिक वर्षमा पाँच हजार आठ सय ६२ मेट्रिकटन स्याउ बाहिरी जिल्ला पठाइएको छ । उक्त स्याउ बिक्रीबाट जिल्लामा रु ३८ करोड १० लाख आम्दानी भएको जिल्लास्थित कृषि विकास कार्यालयले जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

कार्यालयका कृषि प्रसारण अधिकृत शेरबहादुर भण्डारीले गत साउनदेखि यही असोज ८ गतेसम्ममा सडक तथा हवाई यातायातमार्फत स्थानीय स्याउ बाहिरी जिल्ला पठाइएको जानकारी दिनुभयो । जुम्लाका आठ वटै स्थानीय तहमा गरी करिब १५ हजार मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएको उनले बताए।

जिल्लामा चार हजार दुई सय हेक्टरमा स्याउखेती भए पनि उत्पादन भने दुई हजार आठ सय हेक्टरमा मात्र हुने गरेका जानकारी दिँदै अधिकृत भण्डारीले आगामी कात्तिकको अन्तिम सातासम्म स्याउ उत्पादन र निर्यातको यकिन विवरण प्राप्त हुने बताए ।

आठवटै स्थानीय तहका करिब १६ हजार परिवार स्याउ खेतीमा निर्भर रहेका जिल्लास्थित कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले जानकारी दिनुभयो । बगैँचामा पुगेर व्यापारीले प्रतिकेजी रु ६५ का दरले स्याउ खरिद गर्दै आएका छन् ।

जिल्लामा स्थानीय जातका जुम्ली स्याउ, इटाली, गाला, गोल्डेन, फूजी र जोनाप्रिन्स जातका स्याउको खेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय जुम्लाले जनाएको छ ।

प्रतिक्रिया