शनिबार, पुष १९, २०८२

बङ्गलादेशमा प्रदर्शनका क्रममा मौन बस्नु गल्ती भएको साकिबको स्वीकारोक्ति

मेरोन्यूज २०८१ असोज २४ गते १२:४६

बङ्गलादेशका क्रिकेट खेलाडी साकिब अल हसनले विद्यार्थी नेतृत्वको आन्दोलनका क्रममा मौन बसेकोमा माफी मागेका छन् । अपदस्थ प्रधानमन्त्री शेख हसिनाको पार्टीका दर्जनौं व्यक्तिहरूमध्ये ३७ वर्षीय शाकिबले पनि बङ्गलादेशमा भएको विद्रोहको क्रममा प्रदर्शनकारीहरूमाथि घातक प्रहरी दमन र हत्याको लागि अनुसन्धानको सामना गरिरहेका छन् ।

बङ्गलादेशको क्रिकेटका पूर्व कप्तान साकिब सन् २०२४ को सुरुमा भएको संसदीय निर्वाचनमा सांसद निर्वाचित भएका थिए । अगस्टमा हसिनाको राजीनामापछि संसद विघटन नभएसम्म र अशान्तिको चरम समयमा छिमेकी भारतमा निर्वासित नभएसम्म उहाँले बङ्गलादेशको सांसदको रूपमा सेवा गरेका थिए ।

हसनले बुधबार आफ्नो आधिकारिक फेसबुक पेजमा एक लामो नोट लेख्दै प्रदर्शनका क्रममा नबोलेकोमा माफी मागेका छन्। नोटमा भनिएको छ, “आफ्नो जीवन उत्सर्ग गर्ने सबै विद्यार्थीहरूप्रति म श्रद्धाञ्जलि अर्पण गर्दछु ।” मृतकका आफन्तजनप्रति समवेदना प्रकट गर्दै उनले भनेका छन्, “कुनै पनि कुराले कसैलाई गुमाउनुको रिक्ततालाई भर्न सक्दैन, तर मेरो मौनताबाट आहत भएका सबैसँग म क्षमा याचना गर्दछु।

यदि म तपाईंको ठाउँमा भएको भए म पनि दुःखी हुने थिएँ।” बङ्गलादेशको स्वास्थ्य मन्त्रालयका अनुसार हसिनालाई सत्ताच्युत गर्नुअघि भएको अशान्तिमा परी ७०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियााे । आन्दोलनका समय शाकिब क्यानडामा घरेलु ट्वन्टी–२० क्रिकेट प्रतियोगिता खेलिरहेका थिए र त्यसपछि उनी बङ्गलादेश फर्किएका छैनन्। हसिनाको बहिर्गमनपछि देशमा गठित अन्तरिम सरकारको स्वीकृतिमा उनले बङ्गलादेशी टोलीसहित पाकिस्तान र भारतको भ्रमण गरेका छन् ।

हसीनाका विरोधीहरूले बहिष्कार गरेको जनवरीमा सम्पन्न निर्वाचनमा शाकिब संसद् निर्वाचित भएका थिए। उनले आफ्नो गृहनगरको विकासमा योगदान गर्न चाहेकाले आफूले चुनाव लड्ने निर्णय गरेको बताएका छन् । उनले लेखेका छन्, “यदि आफ्नो तोकिएको स्थान छैन भने बङ्गलादेशमा विकासमा प्रत्यक्ष भूमिका निर्वाह गर्न कठिन छ ।”

शाकिबले गत महिना अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको थियो तर यसै महिनाको अन्त्यमा दक्षिण अफ्रिकासँग घरेलु मैदानमा आफ्नो अन्तिम टेस्ट श्रृङ्खला खेल्न चाहेको बताउनुभएको छ ।

उनले आफ्नो फेसबुक पोस्टमा भन्नुभएको छ, “आफ्ना सबै प्रशंसकहरूसँग ‘बिदाइ’ हुने अवसर मेरो इच्छा हो ।” उनले भने, “तपाईहरू सबैलाई थाहा छ, म चाँडै नै आफ्नो अन्तिम खेल खेल्नेछु । म आशा गर्दछु कि मेरो बिदाइको घडीमा तपाईंहरू सबै मेरो साथमा हुनुहुनेछ।”

प्रतिक्रिया