मंगलबार, चैत ३, २०८२

झापामा राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न बजार अनुगमन

मेरोन्यूज २०८१ कार्तिक ६ गते १०:१७

भद्रपुर (झापा) । आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा रु ६९ करोड २८ लाख ५७ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम आव २०८०/८१ को सोही अवधिका तुलनामा नौ दशमलव ८१ प्रतिशतले बढी हो ।

Advertisement
nepal life insurencenepal life insurence

कार्यालयको तथ्याङ्कानुसार गत आव २०८०/८१ को पहिलो त्रैमासिकमा रु ६३ करोड नौ लाख ३५ हजार राजस्व सङ्कलन गरेको थियो । अन्तरिक राजस्व कार्यालयले चालु आव २०८१/८२ मा रु चार अर्ब ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले जानकारी दिनुभयो । “चालु आवको पहिलो त्रैमासिकमा रु ८१ करोड ४० लाख ५४ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकामा लक्ष्यको ८५ दशमलव ११ प्रतिशत राजस्व सङ्कलन भयो”, उनले भने, “चालु आवको पहिलो त्रैमासिकमा गत आवको सोही अवधिको तुलनामा राजस्व असुली बढे पनि चालु आवमा राजस्व असुलीको लक्ष्य बढेर आएकाले सोअनुसार सङ्कलन हुन सकेन ।”

कार्यालयले पहिलो त्रैमासिकमा आयकरबाट रु २४ करोड पाँच लाख ४९ हजार, ब्याजबापत रु दुई करोड ८८ लाख ७६ हजार, मूल्य अभिवृद्धि करबापत रु २६ करोड ४२ लाख ३५ हजार, अन्तःशुल्कबापत रु १५ करोड आठ लाख ९१ हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको प्रमुख कर अधिकृत काफ्लेले बताए । उनका अनुसार स्थानीय उद्योग वाणिज्य सङ्घहरूको समन्वयमा निरन्तर करदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ । भारतसितको खुला सिमानाका कारण अवैध रूपमा हुने गरेको निकासी पैठारीले राजस्व सङ्कलनमा असर परिरहेको उनको भनाइ थियो ।

प्रतिक्रिया