मरिक समुदाय छठका लागि बाँसका सामग्री बनाउन व्यस्त

इनरुवा(सुनसरी)। सुनसरी हरिनगर गाउँपालिका–२ का भट्टाई मरिक एकाबिहानै हातमा बाँस र दाउ (खुर्पाजस्तो हतियार) लिएर घरबाट निस्किन्छन् । त्यसलाई आवश्यकताअनुसार काट्छन्, अनि काममा लाग्छन् ।
स्थानीय गीता मरिकलाई पनि कतिबेला बिहान हुन्छ र काम गरौँला भन्ने छटपटी हुन्छ । भट्टाई र गीता मात्रै होइन अचेल यहाँका मरिक समुदायका व्यक्तिको दिनचर्या यसैगरी बित्ने गरेको छ ।
आस्था र लोकपर्वका रूपमा रहेको छठ पर्व आउन पाँचदिन मात्र बाँकी छ तर त्यसका लागि चाहिने सामग्री बनाउन यहाँका मरिकहरूलाई धेरै दिन पहिलेदेखि नै छठ लागिसकेको छ । सुनसरी सदरमुकाम इनरुवासहित हरिनगर, देवानगन्ज, इटहरी, दुहबी, रामधुनी, कोसी, बराह क्षेत्रलगायत क्षेत्रमा बसोबास गर्ने मरिक समुदायलाई छठ नजिकिँदै जाँदा सामान बनाउन थप चटारो छ ।
छठमा प्रयोग हुने कोनियाँ, ढकी, नाङ्गलोलगायत बाँसका सामग्री बनाउनका लागि व्यस्त हुनुपरेको हरिनगर– २ का वीरेन्द्र मरिकले बताए । छठमा बाँसका सामग्रीको माग अधिक हुने गरेकाले आफूहरूले यस्ता सामान बनाएर बिक्री वितरणबाट आएको केही रकमले चाडपर्वको गर्जो टार्ने गरेको उनले सुनाए ।
स्थानीय अनिता मरिकले यहाँ हरेक वर्ष छट नआउनुभन्दा एक महिना अगाडिदेखि नै बाँसको सामग्री बनाउने गरिएको बताइन् । “यही बेला त हो आम्दानी गर्ने । अरु बेला यस्तो अवसर आउँदैन । थोरै भए पनि रकम जम्मा गर्ने र आफ्ना र परिवारका आवश्यकता पूर्ति गर्ने गरेका छौँ”, उनले भनिन् ।
स्थानीय चन्दन मरिकले पनि आफूहरूको आम्दानीको अन्य स्रोत नभएकाले छट पर्खेर बस्नुपर्ने अवस्था रहेको सुनाए । यसरी बाँसको सामग्री बिक्री गरेर वर्षभरिका लागि आर्थिक जोहो गर्नु आफूहरूको बाध्यता रहको र यसैबाट खाने कुराका साथै छोराछोरीको शिक्षादिक्षाको खर्च धान्ने गरेको उनको भनाइ छ ।
दुई जनाको सहारामा एउटा बाँसको ढकी बनाउनका लागि २ दिनसम्म लाग्ने गरेको मरिक समुदायका अगुवाले बताएका छन् । श्रीमान् र छोराछोरीसँगै छठसम्ममा दुई सय कुनियाँ र ढकी बनाउने गीता मरिकको योजना छ तर पछिल्लो समय आधुनिकतासँगै भित्रिएका प्लाष्टिकलगायत सामग्रीले घरमा बनाएका सामानको माग घट्दै गएकामा उनी चिन्तित छन् ।
यसैले मरिक समुदायको जीवनस्तर उकास्नका लागि बाँसका सामग्रीको व्यवसायीकरण वा वैकल्पिक सामान बनाउनका लागि आवश्यक तालिम र प्रविधि सहयोग गर्नुपर्ने स्थानीयको माग छ ।










आजदेखि बाघ गणना हुँदै
रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
काँग्रेसद्वारा प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
प्रतिक्रिया