कीर्तिपुरमा सुरु भयो उप निर्वाचनको माहोल

कीर्तिपुर । कीर्तिपुर नगरपालिकामा उप निर्वाचनको माहोल सुरु भएको छ । आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उप निर्वाचनको माहोल सुरु भएको हो । उपनिर्वाचनमार्फत नगर प्रमुख र दुई वडाध्यक्ष निर्वाचित हुने भएकाले नगरपालिका क्षेत्रभर चुनावका आकांक्षी र सम्भावित परिणाम बारे चर्चा सुरु भएको छ ।
नेपाली कांग्रेस, एमाले र माओवादीसहितका दलहरुले उम्मेदवार छनोटलाई तीव्रता दिएका छन् । विसं २०७९ को स्थानीय निर्वाचनबाट निर्वाचित प्रमुख राजकुमार नकर्मी मिर्गौलासम्बन्धी समस्याको उपचारको क्रममा केही महिनाअघि निधन भएको थियो ।
वडा नं १ का तत्कालीन वडाध्यक्ष हीरालाल महर्जन कलेजो रोगको उपचारका क्रममा र ४ का वडाध्यक्ष श्याम अधिकारीको दुर्घटनामा परी निधन भएपछि प्रमुख र दुई वडाध्यक्ष पद रिक्त छन् । सत्तारुढ दलहरुमध्ये नगर प्रमुख पदमा नेपाली कांग्रेसको नगर समितिबाट सभापति कृष्णमान डङ्गोलसहित ११ जना आकांक्षीको नाम काठमाडौँ जिल्ला समिति समक्ष सिफारिस गरिएको छ ।
सिफारिस हुने अन्य आकांक्षीमा नगरसमितिकै पूर्वसभापति बद्रीलाल महर्जन, ५ नं वडाका पूर्ववडाअध्यक्ष हिमाल कार्की, दिवङ्गत प्रमुख राजकुमार नकर्मीकी धर्मपत्नी जमुना नकर्मी, महिला नेतृ सङ्गीता बोगटी तथा स्थानीय नेताहरु शशीर महर्जन, राममान सिंह, जनकलाल महर्जन, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जन छन् ।
वडा नं १ का अध्यक्षका लागि नेपाली कांग्रेसका इच्छाकुमार महर्जन, सिकन्दर महर्जन र महेश्वर महर्जन आकांक्षी छन् । यसैगरी वडा नं ४ को वडाअध्यक्षका लागि मुरारी विष्ट, मिलन विष्ट, राजेन्द्र बानियाँ, सुभद्रा सिग्देल, कालुभाइ खड्का, सुजन बस्नेत, इन्द्र बुढाथोकी र अनिल बाँस्कोटा आकांक्षीका रुपमा देखिएका छन् ।
नेपाली कांग्रेसले यसअघि आफूले जितेको प्रमुख र १ नम्बर वडाध्यक्ष कायम राख्दै वडा नं ४ को अध्यक्ष समेत कब्जा गर्ने लक्ष्य लिएको छ । सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले प्रमुख पदमा केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धरलाई अघि सारेको छ । एमालेको नगर कमिटीबाट सर्वसम्मत सिफारिस भएका उनको नाम बुधबार बसेको नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीको बैठकले स्वीकृत गरेको हो ।
यसैगरी वडा नं १ मा २०७४ सालको स्थानीय निर्वाचनमा वडाध्यक्ष निर्वाचित भएका हर्षमान महर्जनलाई एमालेले अघि सार्ने जनाएको छ । वडा नं ४ को वडाअध्यक्षको उम्मेद्वारका लागि बद्री बुढाथोकीलाई अघि सार्ने पार्टीको तयारी छ । पछिल्लो स्थानीय चुनावमा प्रमुखसहित नगरपालिकाका महत्वपूर्ण पदहरु गुमाएको एमाले पुरानो साख फर्काउने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएको छ ।
प्रमख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले प्राध्यापक डा. शिवशरण महर्जनलाई प्रमुख पदको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । यसैगरी वडा नं १ मा अष्टमान महर्जन र वडा नं ४ को वडाध्यक्षमा नारायण विष्टलाई वडाध्यक्षको उम्मेदवारका रुपमा अघि सारेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले भने बिहीबारबाट मात्र उम्मेद्वार छनोट प्रक्रिया थाल्ने पार्टीका जिल्ला सभापति प्रदीप विष्टले जानकारी दिए । ‘निर्वाचन परिचालन समिति बनेपछि उम्मेदवारीका लागि आवेदन आह्वान हुनेछ । त्यसपछि सर्वसम्मत नभएका पदहरुमा आन्तरिक चुनावबाट उम्मेदवारी छनोट हुनेछ ।’
कीर्तिपुरको चुनावी मैदानमा केही स्वतन्त्र उम्मेदवारको समेत चर्चा चलेको छ । सफाइ अभियन्ता राजमान मानवले प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । भाषा अभियन्ता नरेश श्रेष्ठ र स्थानीय प्रजातन्त्रवादी अभियन्ता कवि महर्जनले पनि नगर प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

















निर्वाचन सुरक्षाबारे चार सुरक्षा निकायका प्रमुखसँग मानवअधिकार आयोगकाे छलफल
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
विवादकाबिच बङ्गलादेशका प्रधानमन्त्रीको शपथग्रहणमा भारतका सभामुख ओम बिरला जाँदै
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
महाशिवरात्रिमा आएका साधुसन्तलाई बिदाइ गर्दा २१ प्रकारका सामग्री प्रदान गरिने
टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया