रामेछापमा जुनार उत्पादन बढ्यो

रामेछाप । रामेछापमा यस वर्ष जुनारको उत्पादन बढेको छ । यस वर्ष उपयुक्त हावापानी तथा किसानले नियमित प्राविधिकको परामर्शमा औषधोपचार तथा भिटामिनको प्रयोग गर्न पाएपछि जिल्लामा जुनार उत्पादन बढेको हो ।
रामेछाप नगरपालिका–६ ओख्रेनीका हिमाल तामाङले पन्ध्र रोपनीमा व्यावसायिकरुपमा जुनारखेती गरेका छन् । गत वर्षको तुलानमा ५० प्रतिशत बढी उत्पादन भएको उनले बताए । अघिल्लो वर्ष रु. दुई लाख ५० हजारको जुनार बिक्री भएको तामाङले बताए । यस वर्ष रु. तीन लाख ५० हजार बराबरको जुनार बिक्री गर्ने योजना रहेको उनले बताए ।
रामेछाप–६ का टेकबहादुर तामाङले पनि सात रोपनी जग्गामा जुनारखेती गरेका छन् । गत वर्षको तुलनामा ४० प्रतिशत उत्पादन बढेको उनले बताए । “गत वर्ष मैले जुनार बिक्री गरेर रु. ७० हजार मात्र लिन सकेको थिएँ, यस वर्ष रु. एक लाखसम्मको बिक्री हुने अनुमान छ”, उनले भने ।
सुकाजोरका किसान रामकुमार कार्की, ओख्रेनीकै युगराज पाख्रिन, शेरबहादुर तामाङलगायत किसानले जुनार उत्पादन गरेपछि उनीहरूको आम्दानी पनि बढेको छ । रामेछाप नगरपालिकाको हिमगंगा सुकाजोर, ओख्रेनी र मन्थली नगरपालिकाको वडा नं १३ र १४ फुलासीमा जुनार उत्पादन गत वर्षको तुलनामा बढेको किसानले बताएका छन् । जुनार जोन सञ्चालन समन्वय समितिका अध्यक्ष गुञ्जबहादुर कार्कीका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले मन्थली र रामेछाप नगरपालिकामा जुनार जोनका रूपमा काम गरिरहेको छ ।
परियोजनाले विभिन्न अनुदान, प्राविधिक सहयोग, कीटनासक औषधि र भिटामिन, यान्त्रिकीकरणजस्ता सामग्रीसमेत किसानलाई वितरण गरेको छ । परियोजना कार्यालयकी प्राविधिक भवानी बस्नेतले मन्थली र रामेछाप नगरपालिका क्षेत्रभित्र लागू भएको जुनार जोन क्षेत्रमा गत वर्ष पाँच सय २० हेक्टरमा सुन्तला जातका फलफूल उत्पादन भइरहेकामध्ये जुनार चार सय २२ दशमलव पाँच, सुन्तला ७८ र कागती २० दशमलव आठ हेक्टरमा जुनार खेती गरिएको थियो । यहाँ चार हजार तीन सय ८० मेट्रिक टन जुनार फलफूल उत्पादन भई रु. १९ करोड ९३ लाख ९५ हजार बराबरको बिक्री भएको प्राविधिक बस्नेतले बताए ।
यस वर्ष चार सय ३७ हेक्टरमा जुनार, ८१ हेक्टरमा सुन्तला तथा २२ हेक्टरमा कागतीखेती गरिएकामा चार हजार चार सय एक मेट्रिक टन उत्पादन हुँदा रु. २२ करोड ६८ हजार बराबरको बिक्री हुने अपेक्षा गरिएको छ । जुनार उत्पादन बढेपछि यहाँका किसान हर्षित छन् । उनीहरूले बगैँचाबाट नै जुनारको दानाको साइजअनुसार प्रतिकिलो रु. ६० देखि रु. ७५ सम्ममा बिक्री गर्ने गरेका छन् ।
















बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प
विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’
खाडी जान लागेका कामदारकाे दुखेसाे – ‘साथीहरूले नआऊ भन्छन्, नजाऊँ जागिर खोसिने डर छ’
अष्ट्रेलिया र सिङ्गापुर ऊर्जा आपूर्ति सहज बनाउन सहमत
नयाँ संसद् भवनमा सबै सांसदलाई बेग्लाबेग्लै ‘चेम्बर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
प्रतिक्रिया