परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता

काठमाडौँ। परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता भएको छ । चीनको छन्दु सहरमा आज अपराह्न उनीहरुबीच वार्ता भएको हो ।
चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमण गर्न तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका सिलसिलामा मन्त्री डा राणा बिहीबार त्यसतर्फ गएकी हुन् ।
उनीहरु बीच नेपाल चीन सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण र त्यस अवसरमा हुने दुई देशबीचको सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको थियो ।
सो भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री डा राणाले चिनियाँ विदेशमन्त्री वाङ यीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा पनि दिएकी थिइन् ।
वार्ताका क्रममा चीनको ७५ औँ स्थापना दिवस र आगामी बर्ष नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवका अवसरमा विदेशमन्त्री वाङमार्फत् चीन सरकार र चिनियाँ नागरिकलाई मन्त्री डा राणाले बधाई ज्ञापन गरेकी थिइन् ।
मन्त्री डा राणाले पछिल्लो समय नेपाल चीन सम्बन्धमा उल्लेखनीय उपलब्धिहरू हासिल भएका र यसका कारण सम्बन्ध थप बलियो बन्दै गएको बताउँदै चीन सरकारले चीन भ्रमण गर्ने नेपाली नागरिकहरूलाई हालै भिसा शुल्क नलाग्ने घोषणा गरेकोमा चीन सरकारलाई धन्यवाद दिइन् ।
त्यसैगरी नेपाल–चीनबीचका सबै परम्परागत सीमा नाका पुनः नियमित रूपमा सञ्चालनमा आइसकेका र त्यहाँ दुवै देशका नागरिक, सामान र सेवाहरूको सीमापार आवागमन निर्वाध बनेकाले यसलाई थप सहज एवं प्रभावकारी बनाउन दुवै पक्षबाट महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको उनले बताइन् ।
पछिल्ला समयमा नेपाल र चीनबीच उच्चस्तरीय भ्रमणहरूको आदानप्रदान भइरहेको र यी भ्रमणहरुले हाम्रो निकट तथा मैत्रीपूर्ण सम्बन्धलाई सधैँ सुदृढ बनाउँदै नयाँ गति प्रदान गर्दै लैजाने विश्वास उनले व्यक्त गरिन ।
सो वार्ताका क्रममा प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणका क्रममा समझ्दारी एवं सम्झौता हुने विभिन्न आयोजना एवं सहयोग आदानप्रदानबारे पनि आवश्यक छलफल भएको थियो ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीको चीन भ्रमणले नेपाल चीनबीच लामो समयदेखि रही आएको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बन्ने विश्वास गरिएको उनले बताइन् । प्रधानमन्त्री ओली आगामी सोमबार चीनको औपचारिक भ्रमणमा जाँदै छन् ।
सो भेटपछि परराष्ट्रमन्त्री डा राणाले चिनियाँ विदेशमन्त्रीसँगको द्विपक्षीय भेटवार्ताले नेपाल चीन सम्बन्धमा नयाँ उचाइ थपेको र दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन सहयोग पुगेको बताइन् ।
भेटका क्रममा दुई देशबीचको सदियौँ पुरानो सम्बन्ध, नेपालको आर्थिक सामाजिकलगायतका क्षेत्रमा चीनले पुर्याउँदै आएको सहयोग, आगामी दिनमा पनि सहयोग र सहकार्यका नयाँ क्षेत्रहरुको पहिचानका साथै आर्थिक विकासका लागि सहकार्यलाई प्राथमिकता दिने बारेमा कुराकानी भएको थियो ।
सो वार्तामा मन्त्री डा राणाको नेतृत्वमा चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओली, चीनको छन्दुस्थित नेपाली महावाणिज्यदूत र परराष्ट्र मन्त्रालयका अधिकारीहरु सहभागी थिए ।
यसैबीच आजै साँझ चिनियाँ विदेशमन्त्री वाङले मन्त्री डा राणा र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोजको आयोजना गरेका थिए ।
सो भोजमा सहभागी हुँदै मन्त्री डा राणाले प्रधानमन्त्री ओली र आफूलाई चीन भ्रमणको निमन्त्रणा गरेकामा चीन सरकार र चिनियाँ जनतालाई धन्यवाद दिइन् । त्यस अवसरमा उनले दुई देशबीच सरकारस्तरमा मात्र नभएर जनता जनताबीच धेरै पुरानो र सुमधुर सम्बन्ध रही आएको चर्चा गरिन । मन्त्री डा राणा भोलि शनिबार नेपाल फर्कने छिन ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
प्रतिक्रिया