बुधबार, वैशाख १०, २०८२

अन्तिम खेलमा पनि पोखरा पराजित, सुदूरपश्चिम प्लेअफमा

मेरोन्यूज २०८१ मंसिर ३० गते १६:३२

काठमाडौं। सुदूरपश्चिम रोयल्ससँग पोखरा एभेन्जर्स पराजित भएको छ।

आइतबार भएको दोस्रो खेलमा पोखरा ५ रनले पराजित भएको हो। सुदूरपश्चिमले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा २ बलअगावै १ सय ४८ रनमा अलआउट भयो।

पोखराका लागि एन्ड्रिज गौसले सर्वाधिक ३६ रन बनाए । उनले २१ बलमा दुई छक्का र चार चौकाको मद्दतले ३६ रन बनाएका हुन्् । त्यस्तै, रेमन रेफरले ३३, किरण ठगुन्नाले ३२, दिनेश खरेलले १५ र जेन मलिकले १० रन बनाए ।

पोखराका लागि माइकल लिस्कले पाँच, सागर ढकाल र दिलीप नाथले समान एक÷एक रन जोडे । यो खेलमा पोखराले अतिरिक्त १५ रन पाएको छ ।

बलिङतर्फ सुदूरपश्चिमका स्कट कुग्गेलिजनले सर्वाधिक पाँच विकेट लिए । हरमित सिंहले तीन र सैफ जैबले एक विकेट हात पारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ५३ रन बनाएको थियो ।

योसँगै सुदूरपश्चिम रोयल्स एनपिएलको ‘प्लेअफ’ चरणमा प्रवेश गरेको छ ।

प्रतिक्रिया