आइतबार, फागुन १०, २०८२

चोरीका घटनामा संलग्न भारतीय नागरिक पक्राउ

मेरोन्यूज २०८१ पुष २ गते ११:०५

सिरहा । मधेसका विभिन्न जिल्लामा चोरीका घटनामा सम्लग्न भारतीय डाँका सिरहाबाट पक्राउ परेका छन् । प्रहरीले शनिबार सिरहास्थित नेपालभारत सीमाक्षेत्रबाट भारतीय नागरिक आरिफ खान भन्ने आरिफ हुसैनलाई पक्राउ गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानका अनुसार नेपालसहित भारतका विभिन्न स्थानमा हुसैनविरुद्ध डकैती, लुटपाट तथा सङ्गठित अपराध मुद्दा दर्ता छ । महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबि बैंकको शाखामा २०८० साल जेठ १६ गते पाँच जनाको हतियारधारी समूहले पेस्तोल देखाएर रु ३८ लाख लुटेको घटनामा पनि उनी प्रतिवादी रहेका थिए ।

त्यसैगरी २०७९ फागुन १० मा सिरहाको मिर्चैया नगरपालिका–३ स्थित बतहा पुलमा पैसा बोकेर गइरहेका ग्लोबल आइएमई बैंकका कर्मचारीलाई पेस्तोल देखाई रु नौ लाख लुटेर फरार भएको घटनामा पनि उनी प्रतिवादी रहेको प्रहरी उपरीक्षक पासवानले जानकारी दिए। उनले भने, “अन्य धेरै चोरी डकैतीका घटनामा उनको संलग्नता रहेको अनुसन्धानबाट खुलेको छ । तर सबै घटनामा मुद्दा दर्ता छैन ।”

भारतमा बसी नेपालमा सङ्गठित अपराध गर्दै आएका डाँकाहरूको समूह नै रहेको र पक्राउ परेका डाँकु हुसैन उक्त समूहका नाइके रहेको प्रहरीले जनाएको छ । उक्त समूहका अन्य केही व्यक्ति महोत्तरी प्रहरीले पक्राउ गरिसकेको जनाएको छ । उक्त समूहले नेपालमा मात्र नभएर भारतमा पनि चोरी, डकैती गर्दै आएको र भारतीय प्रहरीले उनीबारे सूचना दिनेलाई रु २५ हजार पुरस्कार दिने घोषणा गरेको प्रहरी उपरीक्षक पासवानले जानकारी दिए।

प्रतिक्रिया