शुक्रबार, वैशाख १९, २०८२

गृहमन्त्रालय र काठमाडौं विश्वविद्यालयबिच समझदारीपत्रमा हस्ताक्षर

मेरोन्यूज २०८१ पुष ८ गते १४:०२

काठमाडौं । गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयको मानसिक स्वास्थ्य विभागबिच मानसिक स्वास्थ्य अध्यायन–अनुसन्धानका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सोमबार विहान गृह मन्त्रालयका विपद् महाशाखा प्रमुख डा। टोकराज पाण्डे र विश्वविद्यालयका मानसिक स्वास्थ्य विभाग प्रमुख डा। दिपक कुँवरले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

सो कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयको प्रयासमा आत्महत्याको घटानालाई नियन्त्रण र न्यूनीकरणमा काम हुने बताए । गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयको प्रयासमा एक वर्षमा आत्महत्याको घटना ठूलो संख्यामा घट्ने गृहमन्त्री लेखकले विश्वास व्यक्त गरे।

‘आत्महत्याको विषय गम्भीर भएको छ । प्रत्येक दिनको रेकर्ड हेर्दा म आत्तिन्छु, डराउछु । पछिल्लो २४ घण्टामा मात्र ३७ जनाले आत्महत्या प्रयास गरेका छन् । जसमध्य ११ जनाको मुत्यु भएको छ । बचेका २६ जनाले जुन सुकै बेलापनि आत्महत्या गर्ने खतरा हुन्छ,’ उनले भने।

आत्महत्याको कारण, कारक र निदानको उपायको खोजीका लागि काठमाडौं विश्वविद्यालयले अध्यायन र अनुसन्धान गर्ने उनको भनाइ छ । ‘नेपाल प्रहरीले पनि आत्महत्या न्यूनीकरण कार्ययोजना २०८१ जारी गरेको छ । आत्महत्या न्यूनीकरण गर्ने कुरामा हामीले काम राखेकै छौं । तर यत्तिले पुगेन । थप अगाडि बढ्नुप¥यो । त्यसका लागि काठमाडौं विश्वविद्यालयलेसँग मिलेर काम गर्दा उपलब्धी प्राप्त गर्छौँ,’ गृहमन्त्री लेखकले भने, ‘आत्महत्या गर्ने सम्भावना भएका मानिस र आत्महत्या उद्योग गरे पनि मृत्यु नभएका मान्छेको पहिचान गरेर प्रहरीले काठमाडौं विश्वविद्यालयको मानसिक स्वास्थ्य विभागलाई जानकारी गराउछ ।’

उनका अनुसार मानसिक स्वास्थ्य विभागले टेलिमेडिसिनमार्फत त्यस्ता मान्छेलाई मनोपरामर्श दिने छ ।आत्महत्या नियन्त्रण र न्यनीकरण सम्बन्धी मानसिक स्वास्थ्य विभागले नेपाल प्रहरीलाई पनि आधारभूत तालिम दिने गृहमन्त्री लेखकले बताए। केही समयपछि आत्महत्या सम्बन्धी एउटा एप विकास गरेर सबै कुरालाई एपमा जोड्ने योजना रहेको पनि उनको भनाइ छ ।

आत्महत्या न्यूनीकरणबारे तीन महिनमा आवधिक मल्यांकन गर्न गृहमन्त्री लेखकले निर्देशन दिए । ‘तीन महिनामा नेपाल प्रहरीले आत्महत्याको प्रयास गरेका कति मान्छेलाई मानसिक स्वास्थ्य विभागलाई जानकारी गरायो । कि मान्छेले मानसिक स्वास्थ्य विभागले मनोपरामर्श ग¥यो । हामीले कति मान्छेलाई जोगाउन सक्यौं भनेर आवधिक रुपमा मुल्यांकन गर्नुपर्छ,’ उनले भने ।

यस्तै मानसिक स्वास्थ्य विभागका प्रमुख कुँवरले गृह मन्त्रालयसँग भएको सम्झौताले आत्महत्या न्यूनीकरणका लागि काठमाडौं बाहिर पनि काम गर्ने अवस्था बनेको बताए। ‘टेलिमेडिसियनमार्फत दुरदराजसम्म पनि पुग्न सकिन्छ । गृह मन्त्रालयसँग मिलेर काम गर्दा राम्रो परिणाम दिन सकिन्छ,’ उनले भने।

प्रतिक्रिया