शुक्रबार, फागुन २९, २०८२

राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित

मेरोन्यूज २०८१ पुष १९ गते २१:१७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समितिको बैठक भोलि बिहान ८ बजे पुनः बस्ने गरी स्थगन गरिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

काठमाडौँमा आजदेखि सुरू भएको बैठकमा अध्यक्ष कमल थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा छलफल जारी रहेकाले भोलि बिहान पुनः बस्नेगरी स्थगन भएको सहमहामन्त्री प्रदीप कार्कीले जानकारी दिए ।

भ्रष्टाचार नियन्त्रण, बेरोजगारी अन्त्य र सहकारीपीडितको समस्या समाधानका उपाय पहिल्याउने मुख्य एजेण्डाका रूपमा समावेश गरिएको राजनीतिक प्रतिवेदनमा पार्टीले समान विचारधार भएकाहरूसँग सकेसम्म एकता गर्ने, एकता सम्भव नभए समान विचारधारा भएका दलसँग सहकार्य गर्ने वा मोर्चा बनाउने उद्देश्य राखेको छ ।

सर्वधर्म, समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राष्ट्र, संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र, केन्द्रमा बलियो सरकार र स्थानीय तहमा अहिलेकोभन्दा बढी अधिकारसम्पन्न स्थानीय सरकार गरी दुई तहको सरकार पार्टीको वैचारिक एजेण्ड हुने उल्लेख गरिएको प्रतिवेदनमा पार्टीले विगतमा जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासकीय व्यवस्थाको मान्यता लिएकामा नेपालको भूराजनीतिक अवस्था, धार्मिक, सामाजिक परिवेश एवं विद्यमान धरातलीय यथार्थलाई दृष्टिगत गर्दै उक्त एजेण्डमा पुनर्विचार गर्नुपर्ने भनेको छ ।

निर्वाचनमा बढ्दो व्यापारीकरण, अपराधीकरण बढेकाले निर्वाचन प्रणालीमा समावेशिता र समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता र प्रजातन्त्रको सुदृढीकरणसहित सुधारको माग गरिएको छ । संविधान संशोधनका क्रममा जनताले नरूचाएको धर्म निरपेक्षता, सङ्घीयता हटाउन प्रमुख राजनीतिक दलहरूलाई आग्रह गरिएको छ ।

बैठकमा महामन्त्री राजाराम बर्तौलाले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया