अङ्ग्रेजी नयाँ वर्षमा पनि आएनन् सौराहामा पर्यटक

चितवन । अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो दिन बिहान देखि होटलका गेटमा कोठा खाली नभएका सूचना देख्न सकिन्थे । मध्याह्न सम्ममा अधिकांश होटल भरिसकेका हुन्थे । साँझ कोठा खोज्नेले पाउनै नसकेर फर्किनुपथ्र्यो । सौराहाका कुनाकुना सम्मका होटल भरिभराउ हुने गर्दथे ।
यस वर्ष अवस्था फरक देखियो । सौराहामा पर्यटकको आगमन भए पनि विगतको जस्तो खचाखच हुन सकेन । नयाँ वर्षको दुई दिन पहिले देखि दुई दिन पछि सम्म होटलमा पर्यटकको राम्रो उपस्थिति हुने गर्दथ्यो । विगत १४ वर्ष देखि प्रत्यक्ष रूपमा पर्यटन व्यवसाय लाग्नु भएका क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरे आफूले पेसा अँगाले पछिको नयाँ वर्षमा सबै भन्दा कम पर्यटक यस वर्ष आएको बताउछन् । व्यवसायीको भनाइमा यो वर्ष ८० प्रतिशत भन्दा बढी कोठा भरिएका थिएनन् ।
घिमिरेको भनाइमा सडक सञ्जालका कारण पर्यटकको आगमनमा कमी भएको हो । काठमाडौं बाट आउने पर्यटक दिनको समयमा राजमार्ग बन्द हुने भएकाले रोकिए । यस्तै पोखरा र बुटवल तर्फ बाट आउनेहरू बाटो सहज नहुँदा आउन अनिच्छुक देखिए । घिमिरे भन्छन्, “सडक सँगै आर्थिक मन्दी र यहाँ नयाँ कार्यक्रम नहुँदा पर्यटकको कमी भएको हुनुपर्छ ।”
केही दिन अगाडि सम्म हात्ती महोत्सव भए पनि नयाँ वर्षका दिन खासै ठूलो कार्यक्रम हुन सकेन । सौराहा क्षेत्रमा साँझमा घुमेर फर्किने आन्तरिक पर्यटकको सङ्ख्या राम्रै देखिए पनि होटलमा बस्नेहरूमा कमी आएको उनको भनाइ छ ।
होटल जङ्गल क्राउनका महाप्रबन्धक सन्तोष गिरी बालबालिकाको परीक्षाको कारण पनि पारिवारिक घुमघाम कम भएको अनुमान गर्छन् । कार्यक्रम राखिएका होटलमा पर्यटक भरिए पनि धेरै होटलले पाहुना कम भएको गुनासो गरेको उनले बताए । विगतका वर्षहरूको तुलनामा यस वर्ष पर्यटकमा कमी आएको उनको भनाइ छ ।
सौराहा आउने पर्यटकको मुख्य रोजाइ जङ्गल सफारी हुने गर्दछ । हात्ती सफारी गराउँदै आएको युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडा नयाँ वर्षमा पनि पर्यटकको सङ्ख्यामा कमी आएको बताए । विगतका वर्षहरूमा एउटा हात्तीले पाँच पटक सम्म पर्यटकलाई जङ्गल घुमाउने गरेको स्मरण गर्दै उनले यस वर्ष मुस्किलले तीन खेप गरेको बताए ।
उनले भने, “विगतमा पाँच पटक हात्तीले पर्यटकलाई घुमाउँदा पनि पालो नपाएर धेरै फर्किने गर्दथे ।” उनको भनाइमा यस वर्ष २५ प्रतिशत भन्दा कम पर्यटक सौराहा घुम्न आएको अनुमान गर्न सकिन्छ ।
क्षेत्रीय होटल सङ्घका महासचिव गुणराज थपलिया सडक सञ्जाल, आर्थिकमन्दी, बालबालिकाको परीक्षा लगायतका कारण पर्यटकको कमी भएको बताउछन् । उनले भने, “बाटो कुनै निर्माणाधीन, कुनै बन्द छन्, जहाजको भर छैन, कहाँ बाट पर्यटक आउनु ?” आम नागरिक आर्थिकमन्दीको चपेटामा रहेकाले पनि घुम्न आउने घटेको उनको भनाइ छ ।
सौराहामा एक सय ६० वटा होटल छन् । ती होटलमा छ हजार पाँच सय पर्यटक अटाउँछन् । असी प्रतिशत हाराहारी मात्रै भरिएको थपलिया बताउछन् । उनले भने, “पहिले पहिले दिउँसै होटल भरिएर सूचना टाग्नुपथ्र्यो, यो वर्ष यस्तो भएन ।” आएका मध्ये ८० प्रतिशत नेपाली र बाँकी भारतीय एवं तेस्रो मुलुकका रहेको उनको भनाइ छ ।
चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा जीप, डुङ्गा, हात्ती सफारीका लागि पर्यटक आउने गर्दछन् ।
















त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
जुम्लामा बढ्यो चुनावी सरगर्मी
नेपालमा निपाह भाइरसको जोखिम न्यून भए पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह
त्रिविको शिक्षाशास्त्र सङ्कायले पायो ‘क्युएए’
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया