शुक्रबार, वैशाख १२, २०८२

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, मुख्यमन्त्री शाहद्वारा ट्रफी अनावरण

मेरोन्यूज २०८१ माघ ३ गते १९:५१

धनगढी। धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा आगामी माघ १९ गतेदेखि २८ गतेसम्म क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको हो ।

आज धनगढीको धनगढी क्रिकेट एकेडेमीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइएको हो ।

यस वर्षदेखि नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएर प्रतियोगिता आयोजना गर्न लागेको गो ड्रिमर्सका अध्यक्ष सुवाश शाहीले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

‘प्रतियोगिताका खेलहरु खेल्नका लागि फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा चार वटा पिच निर्माण सम्पन्न भइसकेका छन् । मैदानमा दर्शकहरुलाई बस्नका लागि कृतिम प्याराफिट पनि जडान गरिसकिएको छ ।’ अध्यक्ष शाहीले भने, ‘प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म तयारी ९० प्रतिशत सकिएको छ । सामान्य तयारीहरु अबको केही दिनमा सम्पन्न गरेर प्रतियोगिताको प्रतिक्षामा रहने छौं ।’

धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्काको स्मृतिमा आयोजना गर्न लागेको अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ । रनिङ ट्रफीको रुपमा टी- २० फर्म्याटको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०/५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ । लिगकम नकआउटका आधारमा आयोजना हुने प्रतियोगिताका सम्पुर्ण खेलहरु धनगढीस्थित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा आयोजना गरिनेछन् ।

प्रतियोगितामा देशभरका ८ वटा क्लबका टीमहरुको सहभागीता रहनेछ । प्रतियोगितामा डिसिए धनगढी, सिवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) काठमाण्डौं, फेण्ड्स युथ क्लब डडेल्धुरा, घोडाघोडी- ११ सुख्खड, न्यु होराईजन वुटवल, दशरथ चन्द एकेडेमी बैतडी र वोष्टन क्रिकेट झापाको सहभागीता जनाउनेछन् । प्रतियोगितामा सहभागी टोलीमा ए क्याटोगोरीका चार जना, बी क्याटोगोरीका पाँच जना र बाँकी सी क्याटोगोरीका गरी १४ खेलाडी समावेश गर्न पाईनेछ । ए क्याटोगोरीमा नेपाली राष्ट्रिय टीमका खेलाडी रहेका छन् भने बी क्याटोगोरीमा नेपाली राष्ट्रिय टीम ए, यु- १९ नेपाली राष्ट्रिय टोली र प्रदेश स्तरीय सिनियर खेलाडी रहेका छन् । सी क्याटोगोरीमा यु- १६ नेपाली राष्ट्रिय टोली, प्रदेशका यु- १९ र यु- १६ का खेलाडी र अन्य खेलाडीहरु रहेका छन् ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलवहादुर शाहद्वारा ट्रफी अनावरण
गो ड्रिमर्सको आयोजनामा आगामी माघ १९ गतेदेखि २८ गतेसम्म धनगढीमा आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ ।

आज धनगढीमा एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलवहादुर शाहले ट्रफी अनावरण गरे । सो अवसरमा बोल्दै मुख्यमन्त्री शाहले अर्जुन ट्रफी जस्ता प्रतियोगिताले क्रिकेटको समग्र विकासमा टेवा पुग्ने र क्रिकेटमा लागेका तमाम शुभच्छुकहरु लाई हौसला मिल्ने बताए ।

मुख्यमन्त्री शाहले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै भने, ‘यो आयोजनका लागि आयोजकलाई धन्यवाद । प्रदेश सरकार आफ्नो तर्फबाट सहयोग समर्थन गर्न सदैव तयार रहेको छ । आम क्रिकेट प्रेमी जनमानसमा बढी भन्दा बढी सहभागिता र सहयोगका लागि आह्वान गर्दछु ।’

प्रतिक्रिया