राप्ती र नारायणी नदीमा ३ सय ५२ घडियाल गोही भेटिए

चितवन । राप्ती र नारायणी नदीमा तीन सय ५२ वटा घडियाल गोही भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्जले हालै गरेको गणना तथा अनुगमनका क्रममा राप्ती नदीमा दुई सय छ र नारायणी नदीमा एक सय ४६ वटा गोही भेटिएका हुन् ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले पुस १२ गतेदेखि १४ दिन लगाएर गरिएको गणनामा सो संख्यामा गोही भेटिएका बताए । गणनामा निकुञ्जका नौ कर्मचारी र माझीहरू सहभागी भएका थिए । गत वर्ष गरिएको सर्वेक्षणमा राप्तीमा एक सय ५२ र नारायणीमा एक सय १३ वटा गोही भेटिएका थिए । त्यसबेला राप्ती र नारायणीमा तीन/तीन वटा भाले भेटिएकामा यस वर्ष राप्तीमा दुई र नारायणीमा तीन गरी पाँचवटा भाले भेटिएका छन् ।
यस वर्ष एउटा भाले नभेटिए पनि समग्रमा सङ्ख्या भने बढेको छ । गणना हुनुअघि राप्तीमा ४१ वटा गोही छोडिएकाले पनि सङ्ख्या बढेको सूचना अधिकारी थापामगरले बताए । निकुञ्जले गत पुस महिनामा राप्तीमा थप २० वटा गोही छोडेको थियो । गत आर्थिक वर्षमा एक सय पाँच वटा गोही प्राकृतिक बासस्थानमा छाडिएकामा चालु आवमा थप ४० वटा गोही छोड्ने योजना रहेको छ । यहाँ नदी किनारबाट गोहीका अण्डा संकलन गरेर प्रजनन केन्द्रमा कोरलेर बच्चा हुर्किएपछि नदीमा छोड्ने गरिन्छ ।
हालसम्म राप्ती, नारायणीसहित देशका विभिन्न नदीमा दुई हजार १८ गोही छाडिसकिएका छन् । हाल प्रजनन केन्द्रमा सात सय ३९ गोही रहेका छन् ।
घडियाल गोही संकटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो । विगतमा पाकिस्तान, बङ्गलादेश, भूटान, म्यान्मालगायत देशहरूमा समेत पाइने घडियाल हाल नेपाल र भारतमा मात्रै पाइन्छन् । सन् १९४० को दशकमा यसको संख्या विश्वमा १० हजार जति रहेको पाइन्छ । सन् १९७० मा त्यसको दुई प्रतिशत मात्रै सङ्ख्या अस्तित्वमा रहेको पाइएपछि संरक्षणमा चासो बढ्दै गएको संरक्षणकर्मी बताउँछन् ।
चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि सन् १९७५ मा कसरामा घडियाल प्रजनन केन्द्र स्थापना गरिएको थियो । त्यसबेला देशभर एक सयभन्दा कम सङ्ख्यामा घडियाल गोही रहेको अनुमान गरिएको थियो । नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण, माछा मार्नेलगायत कारणले गोहीका प्राकृतिक बासस्थानमा क्षति भइरहेको सूचना अधिकारी थापामगरले बताए । साथै बाढी आउँदासमेत गोही बगेर जाने गरेका छन् ।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया