भेडापालक किसानहरु राडीपाखी बुनेर जीविकोपार्जन गर्दै

हेमन्त केसी, सुर्खेत । मुगुको छायाँनाथ रारा नगरपालिका ११, रोवागाउँका जीतबहादुर बुढाले घरमै राडीपाखी बुन्ने काम गरिरहेका छन् । राडीपाखी बिक्रीले उनको घर खर्च चल्ने गरेको छ ।
उनी मात्र होइन, रोवा गाउँका अन्य स्थानीयबासीले पनि व्यावसायिक रूपमा भेडापालन गरी राडीपाखी उत्पादनमा गरिरहेका छन् । कृषि पेसाले खान नपुग्ने भएपछि राडीपाखी व्यवसायमा उनीहरूको आकर्षण बढेको हो । भेडाको ऊनबाट कम्मल, फेरुवा, पाखी, बुनेर बिक्री गरेर वर्षौंदेखि उनले जीविकोपार्जन गरिरहेका छन् । स्थानीय बजारमा कम्मल र पाखी तीन हजारदेखि तीन हजार ५ सय र फेरुवाको चार हजार रुपैयाँमा बिक्री हुन्छ । सिजनमा राडीपाखीबाट २० हजार रुपैयाँसम्म कमाइ हुने उनको भनाई रहेको छ । भेडाबाट ऊन निकालेर बुनाइ गर्दासम्म धेरै दुःख हुने गरे पनि आफ्नो कमाइप्रति सन्तुष्ट रहेको उनको भनाइ छ ।
नगरपालिकाको रोबा¥याङच्याकाटी गाउँका एक सय ६९ परिवारमध्ये अधिकाश घरधुरीको मुख्य पेसा पनि राडीपाखी व्यवसाय गरिरहेका छन् । गाउँका महिलासमेत राडीपाखा बुन्छन् । पिना, मुन्दु, कोटिला गाउँका अधिकाश स्थानीयवासी राडीपाखी बुनाइमा लागेको वर्षौ भइसक्यो । बर्सेनि एक परिवारले राडीपाखी बिक्री गरी न्यूनतम ५० हजार रुपैयाँ कमाउने गरेको छन् । नगरपालिकाको लेकाली बस्तीमा भेडापालन व्यवसाय फस्टाउँदै गएको छ । जसले राडीपाखी व्यवसायउन्मुख बनेको छ । भेडाको ऊनबाट स्थानीय पहिरन लिउ, फेरुवा, पाखो, कम्मललगायत सामग्री उत्पादन हुने गरेको छ ।
एउटा फेरुवा र कम्मल बनाउन १० दिनसम्म लाग्ने गरेको स्थानीयको भनाइ छ । राडीपाखी बेच्न गमगढी, नेपालगन्ज र सुर्खेतसम्म पुग्ने गरेको थार्प गाउँका हीरालाल बोहोराले बताए । अघिल्लो पुस्ता राडीपाखीको कमाइमै निर्भर छ । घरमा ४० देखि ५० वटा भेडाबाख्रा पाल्न सकिएको खण्डमा एक वर्ष १५ देखि २० वटा राडीपाखा उत्पादन गर्न सकिने स्थानीयबासीहरु बताउँछन् । भेडापालन र राडीपाखी दुवैबाट राम्रो आम्दानी हुने गरेको छ ।
भेडाको ऊनबाट गलैंचा उत्पादनको लागि धेरै पटक जिल्ला घरेलु कार्यालयमा तालिम र मेसिनको माग गरे पनि सुनुवाइ नभएको स्थानीयले गुनासो समेत गरेका छन् । जिल्लामा सडक सुविधा पुगेपछि ग्रामीण भेगका स्थानीयले बुनेका पाखी, लिउ, फेरुवा, कम्मल सहरतिर जाने गरेको उनी बताउछन् ।
जिल्लामा पाँच हजार पाँच सय रुपैयाँमा बिक्री हुने राडीपाखी सहरमा आठ हजारसम्ममा बिक्री हुने स्थानीयको भनाइ छ । जिल्लाको ग्रामीण बस्तीमा चरिचरन सुविधा भएकाले स्थानीयले भेडापालन गरेर आयआर्जनको मुख्य स्रोत बनाएका छन् । भेडाबाख्राको मल उन्नत बालीको निम्ति उपयुक्त हुने भएकाले दोहोरो फाइदा हुनेगरेको छ ।










मुस्ताङकाे सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती
प्रधानमन्त्री बन्ने चाहना छ, गोरुजस्तै जोतिएर देशको सेवा गर्नेछु – विप्लव
भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु
निर्वाचन बिथोल्ने गतिविधी नगर्न प्रचण्डकाे चेनावती
देशलाई निकास दिन सभापति छाड्न तयार छु, तर चुनावका लागि मात्रै भए सरी : रवि लामिछाने
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया