बाढी पहिरोले क्षतिग्रस्त बिपी राजमार्गको मर्मत तीव्र

काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको बाढी पहिराेले क्षतिग्रस्त बिपी राजमार्गको मर्मतलाई तीव्रता दिइएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गअन्तर्गत क्षति पुगेको नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि काभ्रेपलाञ्चोक र सिन्धुलीको सीमास्थल नेपालथोकसम्मको अस्थायी मर्मतलाई तीव्र पारिएको जनाएको छ ।
आउँदो बर्खायाममा यातायात अवरोध नभई नियमित सञ्चालन हुनसक्ने गरी रोशी क्षेत्रमा मर्मत भइरहेको कार्यालयले जनाएको छ । हाल लोडर र डोजर प्रयोग गरी सडक मर्मत गरिरहेको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए ।
योगेशका अनुसार हाल बगरमा गरिएको डाइभर्सन तथा सडकको पुरानै स्थानलाई अवस्था हेरी दुईदेखि तीन मिटरसम्म ग्राभेल भरेर उचाइ बनाउने तथा अप्ठेरो भएको स्थानमा जाली भरेर उचाइ बनाउन थालिएको छ । क्षतिग्रस्त सडक चौडा पार्ने, सम्याउने तथा ग्राभेल भरेर खोलाको सतहभन्दा करिब तीन मिटर उचाइ बनाउने काम भइरहेको छ । कुल १३ किलोमिटर क्षतिग्रस्त सडकमध्ये पहिलो चरणमा आठ किलोमिटर मर्मत गरिनेछ भने बाँकीको थप मर्मतका लागि योजना बनाइने जनाइएको छ ।
राजमार्गको धुलिखेल–नेपालथोक र नेपालथोक–खुर्कोट सडकखण्ड अस्थायी रुपमा मर्मतका लागि सरकारले हालका लागि रु २१ करोड २५ लाख बजेट विनियोजन गरेको छ । सो बजेटबाट गर्ने कामको डिजाइन भइरहेको र डिजाइन सकिएपछि लागत स्टिमेट निकालेर ठेक्का प्रक्रियामा जाने योगेशले बताए । हाल काठमाडौँबाट रामेछाप, सिन्धुलीलगायत पूर्व जाने यातायातका साधन खोला बगरको कच्ची सडकमा कष्टकर एवं जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।
डिभिजन सडक कार्यालयद्वारा गरिएको अध्ययनले भकुण्डेदेखि नेपालथोकसम्मको विभिन्न स्थानमा पुनर्निर्माण गर्न रु नौ अर्ब ६६ करोड लाग्ने अनुमान गरिएको छ । ‘अध्ययनबाट केही स्थानमा पहिला पुल बनाउनुपर्ने देखिए पनि पुल बनाउने कि, वाल लगाउने भन्नेबारे थप छलफलपछि निष्कर्ष निस्कनेछ’, योगेशले भने । पुनर्निर्मित सडकमा ‘आसफाल्ट कङ्क्रिट’सहित दुई लेनको सडक हुने योगेशले बताए । यसअघि ‘इन्टरमिडियट लेन’को सडक थियो ।
















झापामा ३ मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते
लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन
पाल्पामा दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन
ट्राफिक प्रहरीद्वारा एकैदिन १०१ सवारी चालकलाई कारबाही
चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आइपिओ’ शेयर निस्कासन गर्ने
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
प्रतिक्रिया