उत्पीडित जनता अझै अधिकारको पर्खाइमा छन्: अध्यक्ष दाहाल

भजनी।नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्पीडित जनताले अझै अधिकार प्राप्त गर्न नसकेको बताएका छन्।
कैलालीको टीकापुरमा आज आयोजित थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनमा उनले उत्पीडित जनता अहिले पनि आफ्नो अधिकारको पर्खाइमा रहेको बताए।
“यो व्यवस्था ल्याउनमा उत्पीडित जाति, वर्ग र समुदायको महत्वपूर्ण भूमिका थियो र छ। तिनको अधिकार स्थापित गर्दै समाजवाद स्थापना गर्नु अहिलेको आवश्यकता हो”, अध्यक्ष प्रचण्डले भने।
समाजवादी क्रान्तिका लागि जातीय मोर्चा आवश्यक हुने उनको जिकिर थियो। विगतमा भएको सशस्त्र सङ्घर्षलाई सफल पार्नमा पार्टीसँग जोडिएका जातीय मोर्चाको भूमिका विशेष रहेको बताउँदै उनले बृहत् शान्ति प्रक्रियापछि ती समुदायसँगको समन्वय र सहकार्यमा कमजोरी भएको स्वीकारे।
“जनताको माझबाट सत्तामा पुगेपछि हामीबाट केही कमजोरी भए। व्यवस्था परिवर्तनका लागि भूमिका खेलेका जाति, समुदाय र वर्गबाट टाढा भएको जस्तो भयो। अहिले गम्भीर समीक्षापछि आफ्ना गल्तीलाई महसुस गर्दै पार्टी अगाडि बढेको छ”, उनको भनाइ थियो।
अब विसं २०८४ को निर्वाचनअगाडि पार्टी सरकारमा सहभागी नहुने भन्दै अध्यक्ष दाहालले पार्टीभित्र गम्भीर आत्मसमीक्षा गरेर हाल २०६४ सालमा मतदान गर्ने जनताको घरदैलोमा पुगिरहेको बताए।
जनताको भावना बुझ्नकै लागि मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान र हुलाकी राजमार्गकेन्द्रित तराई–मधेश अभियान सञ्चालन गरिएको उनले उल्लेख गरे।
सम्मेलनमा विभिन्न २४ जिल्लाका करिब ७५० प्रतिनिधिको सहभागिता रहेको छ। यही फागुन २२ गतेसम्म सञ्चालन हुने सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ।
प्रतिक्रिया