प्रकाशकीय : ‘मेरोन्यूज’ पाँचौँ वर्षमा प्रवेश

कोभिड महामारीले नेपाली सञ्चार क्षेत्र थिलोथिलो बनेका बेला उदाएको थियो – मेरोन्यूज डटकम । ठूला-ठूला आफुलाई मुलधारका सञ्चारमाध्यम भन्नेहरु समेत बाच्नका लागि संघर्ष गरिरहेका बेला ‘मेरोन्यूज’ले विरुवा रोप्ने काम गरेको थियो ।
देशको अर्थव्यवस्थाको आधार खलबलिएको, उद्योग⁄कलकारखानाले आफ्नो पूर्ण क्षमतामा उत्पादन गर्न नसकेको तथा व्यापार–व्यवसायमा लगानी बढ्न नसकेर अर्थतन्त्र शिथिल भइरहेको बेला जन्मिएको ‘मेरोन्यूज’ले आफ्नो जीवन बचाउन निक्कै कसरत गरेको थियो ।
शैशवकालमै आएको कठिन चुनौति र जटिलतालाई पार लगाउँदै अहिले हामी एउटा स्थापित न्यूज पोर्टलको रुपमा आइपुगेका छौं । आम पाठकका बीचमा ‘मेरोन्यूज’ ले आफ्नो उपस्थितिलाई दरिलो मात्रै पारेको छैन, सबैको प्रिय पोर्टलसम्म बन्न सफल भएको छ । खुशीको कुरा, आज चैत्र ११ गते, ‘मेरोन्यूज’ चौथो वर्ष पुरागरी पाँचौं वर्षमा प्रवेश गर्न सफल भएको छ । यो अवसरमा हामी अर्थात् ‘मेरो न्यूज’ परिवार अत्यन्त खुशी छौँ । २०७७ चैत ११ मा डिजिटल पत्रकारिताको माध्यमबाट हामी तपाईंहरूमाझ आएका थियौँ ।
चार वर्ष अगाडी हामीले सूचना तथा समाचारको क्षेत्रमा एक नवीन पहिचान बनाउन प्रतिबद्ध हुँदै यात्रा सुरु गरेका थियौं। आजको दिन हामी गर्वका साथ भन्न सक्छौं कि, हाम्रो परिश्रम, पाठकको माया र सहकर्मीहरूको अथक प्रयासका कारण ‘मेरोन्यूज’ आम नागरिकको आवाज बन्न सफल भएको छ। हामीसँगै जोडिनु भएका हाम्रा समस्त पाठक, शुभचिन्तक, विज्ञापनदाता तथा लेखकलगायत सबैसँग यो गौरवपूर्ण दिनमा खुसी साट्न पाउँदा हामी उत्साहित भएका छौँ ।
नेपालको संचार क्षेत्रले विगत केही दशकमा ठूलो परिवर्तन देखेको छ। परम्परागत सञ्चारका माध्यमबाट डिजिटल सञ्चारमाध्यममा सर्ने यो यात्रा नेपाली समाजको विकासक्रमसँगै जोडिएको छ। तर, यस परिवर्तनले नयाँ अवसरका साथै नयाँ चुनौतीहरू पनि ल्याएको छ। न्यू मिडियाको उदयले संचारको तरिका बदलेको छ, तर यसले विश्वसनीयता, नैतिकता र सूचनाको गुणस्तरसम्बन्धी प्रश्नहरू पनि उठाएको छ।
यो चार वर्ष हाम्रो लागि आर्थिक रुपमा मात्रै होइन, प्रविधिमा आएको विकासले समाचार सामाग्री र प्रस्तुतीमा चुनौतीपूर्ण रह्यो । साथै, कतिपय अवस्थामा प्रेरणादायी पनि रह्यो। डिजिटल पत्रकारिताको तीव्र विकास, फेक न्यूजको बाढी र विश्वसनीय समाचारको आवश्यकतालाई ध्यानमा राख्दै हामी सधैं तथ्यमा आधारित, सन्तुलित र गहिराइमा पुग्ने पत्रकारिता गर्न अग्रसर रह्यौं। अहिले सामाजिक सञ्जाल नियमनका नाममा सरकारले बनाउन खोजेको ‘सुपर कानुन’ले नागरिक, नागरिक समाज र प्रेसका लागि भय र त्रासको वातावरण सिर्जना गरेको छ ।
सामाजिक सञ्जाल नियमनको नाममा सरकार जेल र जरिवानाको त्रास देखाएर आफनो असक्षमतामाथी प्रश्न उठाउने सर्वसाधारणको आवाज बन्द गराउन खोजिरहेको छ । उता यही बेला एकाध नेता विशेषका कमजोरीलाई देखाएर प्रतिगमनकारी शक्तिहरु सल्बलाउन थालेका छन् ।
नेपाली जनताको दशकौँदेखिको संघर्ष, त्याग तथा बलिदानबाट हामीले संघीय लोकतान्त्रिक गणतन्त्र पाएका हौं। संघीयता, धर्म निरपेक्षता, समानुपातिक समावेशिता पाएका छौं। तर यसलाई उल्टाउन खोज्ने, प्रतिगमनमा धकेल्न खोज्ने कुरामा सहमत हुन सकिन्न । परिवर्तनबाट प्राप्त उपलब्धिको रक्षा र संस्थागत विकासको पक्षमा अहोरात्र पहरेदारी सञ्चार संस्थाले खेल्नु पर्छ भन्ने हाम्रो प्रष्ट मत छ ।
त्यसका लागि हामी प्रतिबद्ध छौँ । अन्त्यमा मेरो न्यूजको सफलता पाठकहरूसँग प्रत्यक्ष जोडिएको छ। तपाईंहरूकै सुझाव, सल्लाह, आलोचना र माया हाम्रो हौसला हो। यो प्लेटफर्म केवल समाचार पढ्ने ठाउँ मात्र होइन, समाज परिवर्तनको लागि बहस, विमर्श र सूचना आदान-प्रदान गर्ने थलो पनि हो।
तपाईंहरूको विश्वास नै हाम्रो ऊर्जा हो। यहाँहरूबाट आजसम्मको प्रेम र सद्भावले निरन्तरता पाउनेमा हामी आशावादी छौँ । सम्पूर्ण आदरणीय पाठक, विज्ञापनदाता तथा शुभेच्छुकमा हार्दिक आभार प्रकट गर्दछौं । पाँचौँ वर्ष प्रवेशको यो अवसरमा सबैलाई बधाई तथा शुभकामना !
प्रतिक्रिया