शनिबार, वैशाख २०, २०८२

नेपाल–भारत आदिवासी जनजातिमैत्री सङ्घद्वारा पहलगाम हमलाको निन्दा

मेरोन्यूज २०८२ वैशाख १९ गते १९:५२

काठमाडौं । नेपाल–भारत आदिवासी, जनजातिमैत्री सङ्घले भारतको काश्मिरस्थित पहलगाममा भएको आतङ्कवादी हमलाको निन्दा गरेको छ ।

सङ्घका अध्यक्ष विनोदकुमार गुरूङले आज विज्ञप्तिमार्फत काश्मिरको पहलगाम क्षेत्रमा हालै भएको आतङ्कवादी हमलाको घटनामा संलग्न आतङ्कवादी कृत्यको भत्सर्ना गरेका छन् । उक्त घटनामा नेपाली नागरिक सुदीप न्यौपानेसहित निर्दोष २६ भारतीय नागरिकहरूको मृत्यु भएको थियो ।

दक्षिण एसियामा शान्ति, स्थायित्व र क्षेत्रीय मैत्रीमाथि आतङ्कवादले गम्भीर खतरा पैदा गरिरहेको उल्लेख गर्दै सङ्घले उक्त घटनाको निष्पक्ष छानबिन गरी अन्तरराष्ट्रिय समुदायसँगको समन्वयमा दोषी समूहलाई कानुनी कठघरामा ल्याउनुपर्ने माग गरेको छ ।

यो जघन्य अपराधका दोषीहरूले कठोरभन्दा कठोर सजाय पाउनुपर्ने उल्लेख गर्दै सङ्घले आफूहरू शान्ति, सहिष्णुता र आपसी सम्मानमा आधारित दक्षिण एसियाको पक्षमा रहेको जनाएको छ ।

त्यस्तै क्षेत्रीय स्थायित्वका लागि सकारात्मक सन्देश दिन पाकिस्तान सरकारको भूमिका महत्त्वपूर्ण हुने सङ्घको विश्वास छ ।

प्रतिक्रिया